Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपति आज अमेरिका जाँदै, को–को छन् भ्रमण टोलीमा?

काठमाडौं, फागुन २६ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै छिन् । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नारी नेत्रीले विश्वलाई कसरी रूपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले आफ्नो भनाई राख्ने छिन् ।

राष्ट्रपति भण्डारी फागुन २७ गते अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष र सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एन्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने छन् ।

राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केर्सटी कालजुलेड तथा क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्ने छिन्। सोही दिन उनीसँग आयरल्यान्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले फागुन २९ गते संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने छिन ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत छन् ।

राष्ट्रपति भण्डारी फागुन ३० गते न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेर चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम छ । यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा उक्त बैठकमा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: