बोलेर होइन गरेर देखाउँछुः मेयर दाहाल

चितवन, फागुन २६ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताएकी छन् । आइतबार भरतपुर महानगरपालिका—१७ को कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् ।

भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर कामहरु अगाडि बढाइरहेको बताउँदै प्रमुख दाहालले आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, रिङरोड र लिंकरोड, फोहोरमैलाको दिगो व्यवस्थापन, पार्क निर्माण, व्यवस्थित अटोल्याण्ड, सडकहरूको स्तरोन्नति, कालोपत्रे लगायतका कामहरु भैरहेको बताइन् ।

गुणस्तरीय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने बताउँदै उनले सोही बमोजिम महानगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिइन् । केही वडा कार्यालयको निर्माण सम्पन्न भइसकेको र ४ वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको बताउँदै मेयर दाहालले महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु सुविधासम्पन्न र प्रविधिमैत्री हुने बताइन् । उनले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले निर्माण कार्यमा नियमित समन्वय गर्न प्राविधिकलाई र नियमित अनुगमन गर्न वडावासीलाई आग्रह गरे ।

याे पनि पढ्नुस  भरतपुरमा माअाेवादी उम्मेदवार रेनु दाहालकाे अग्रता

नदीतटीय क्षेत्रका जनसमुदाय विगतदेखि नदी कटान, डुबान र जंगली जनावरको आक्रमणबाट आक्रान्त भएको भन्दै उनले यसको दीर्घकालीन समाधानका लागि जग्गा उकास सहितको राप्ती र नारायणी नदीको तटबन्धन सहितको बाहिरी चक्रपथको कामलाई अगाडि बढाउन लागिएको बताइन् । यो योजना सम्पन्न हँुदा यी समस्याहरु समाधान हुने उनले विश्वास व्यक्त गरिन् । प्रमुख दाहालले पूर्वाधारकासाथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासका साथै सामाजिक विकास गर्दै सुशासन कायम गरी महानगरको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताइन् ।

याे पनि पढ्नुस  चितवनमा भव्यरुपमा मनाईयो जितिया महोत्सव, राज्यमन्त्रीले चलाईन धनुष बाण

वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङले भाडामा लिएर कार्यालय संचालन गर्नु परेको अवस्थालाई अन्त्य गर्दै यसै आ.व.बाट नयाँ भवनमा सर्ने लक्ष्य राखिएको बताए । १७ नम्बर वडा विगतदेखि नै विकास निर्माणमा पछि परेको बताउँदै वडा अध्यक्ष तामाङले यसको विकासको लागि महानगर प्रमुख दाहालले उल्लेख्य सहयोग गरिरहनुपर्नेमा जोड दिए । उनले जनप्रतिनिधि निर्वाचित भएर काम थालेदेखि हालसम्म भएका कामका विवरणहरु राख्दै भावी आवश्यकता र समस्याहरुका बारेमा जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  चितवनमा पनि सक्रिय नेकपा, माग्यो महानगर प्रमुख रेणु दाहालको राजीनामा

नेपाली कांंग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष तामाङले भरतपुर महानगरपालिकामा अनियमितता जस्ता हल्लाहरु निराधार भएको भन्दै प्रमुख दाहालले पारदर्शी र मितव्ययी ढंगले कामकारबाही गरिरहेको बताए । कार्यक्रममा महानगरपालिकाका प्रशासन प्रमुख कुलबहादुर जिसीले राजनीतिक नेतृत्वको निर्देशन बमोजिम कार्यान्वयनमा लागिरहेको बताए । विधि, प्रकृया र नियमको पालनाका लागि सबैले आआफ्नो आचरणमा परिवर्तन ल्याउन आवश्यक रहेको उहाँले बताए ।

समाजसेवी चन्द्रध्वज गुरुङले १७ नम्बर वडाको मध्यभागमा पर्ने बेलुवामा निर्माणाधीन वडा कार्यालय भवनले वडावासीलाई सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै समयमै गुणस्तरीय भवन निर्माण गर्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्