मूलधारको राजनीतिमा सीके राउतको सम्भावना

पृथकतावादी अभियानमा लागेको सीके राउत समूह मूलाधारको राजनीतिमा फर्किँदा तराईमा मिश्रित प्रतिक्रिया देखियो।

अहिलेसम्म तराई केन्द्रित दल सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले औपचारिक रूपमा कुनै प्रतिक्रिया नदिए पनि तिनका विभिन्न तहका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् आ-आफ्नो धारणा राखेका छन्।

ती सबैले उनी मूलधारतिर फर्किनुलाई सकारात्मक मानेका छन् तर तिनीहरूले राजनीतिक सान्दर्भिकताप्रति प्रश्न उठाएका छन् ।

अहिलेसम्म तराई केन्द्रित दलहरूका कारणले सीके राउतले शक्ति सञ्चय गर्दै आएका थिए।

राजनीतिक लौरो

त्यो कसरी भने सीके राउतको अभिव्यक्त स्वतन्त्रता र उनका कार्यकर्तामाथि हुने ज्यादतीका लागि यी दलहरूले पनि बोलिदिने गर्थे।

त्यसैगरी यी दलहरूले लामो सङ्घर्ष गरेर पनि तराईको असन्तुष्टिको संवैधानिक व्यवस्थापन गर्न नसकिरहँदा त्यसलाई सीके राउतले राजनीतिक ‘मसला’ बनाउँथे।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठन निर्माणको शान्तिपूर्ण तरिकाको छुटरही आएकोमा त्यसको लाभ अतिवादी समूहले पनि लिइरहेका हुन्छन्।

याे पनि पढ्नुस  सिके राउतलाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

यसैको बाटोमा सीकेको धार बाक्लिन खोजेको थियो ।

सीके राउतले तराई केन्द्रित दलले लिएको मध्यमार्गी बाटोमाथि प्रहार गर्दै आएका थिए ।

तर राज्यसँगको सम्बन्धमा मोल-मोलाई गरिरहँदा कतिपय तराई केन्द्रित नेताहरू भन्ने गर्थे- प्रदेश दिदैनौ भने भोलि जनताले छुट्टै देश माग्नेछन्।

अब सीके राउतले छुट्टै मधेश राष्ट्रको अभियान छाडेपछि ती नेताहरूका लागि त्यो राजनीतिक लौरो भाँचियो।

कतिपयले सीकेले मूलधारतिर फर्किनु भनेको तराई केन्द्रित दलहरूले समाएको बाटो सही ठहरिएको बताउँछन्।

सीके राउतका कारणले ती दलहरूलाई विखण्डनवादी हेर्नेहरूले सङ्घीयतालाई पनि त्यही बाटोमा पुर्याउने काम भनी कतिपयले आक्षेप लगाउने गर्थे।

उसो त भू-राजनीतिले पनि अतिवादलाई अनुमति दिँदैन।

सरकारसँग नजिक जनतासँग टाढा?

बेलाबखत सीके राउतको उग्र नाराले तराईमा अस्थिरता बढेर त्यसले सीमावर्ती क्षेत्रमा असर पुर्याउने आशङ्का पनि कूटनीतिकवृत्तमा नसुनिएको होइन।

याे पनि पढ्नुस  मौनअवधि अवज्ञा गर्दै सिके राउतका कार्यकर्ता ‘राइट टु रिजेक्ट’ अभियानमा

सीके राउतले आफ्नो अवतरण अभिमतमा मधेशको एजेण्डामा प्रवेश नै गरेनन्।

त्यहाँ उनले राजनीतिक कार्यकर्ता भन्दा अभियानकर्मीका रूपमा देखिए।

यसले भोलि तराई केन्द्रित राजनीतिमा कसरी अघि बढ्ने अस्पष्ट नै छ।

तर त्यहाँ उनको उपस्थिति सरकारी पक्षसँग बढी नजिक र जनतासँग टाढा भएको देख्नेहरू कम हुने छैनन्।

उनले धन्यवाद दिँदा अनेकौँ पक्षलाई दिए तर तराईका जनता र त्यहाँ केन्द्रित दललाई दिएनन्।

बरु सत्तारुढ नेकपाका लागि उनी केही समय तराईमा बजाउने डमरू हुने सम्भावना धेरै देखिन्छ।

व्यक्ति सीके राउत मूलधारतिर फर्किनुले तराईमा पृथकतावादी झिल्को निभेको पनि छैन।

असन्तुष्टिको चरम अभिव्यक्तिको रूपमा कुनै न कुनै रूपमा रहिरहन्छ।

सरकारको तामझाम

तराई केन्द्रित दलले उठाउँदै गरेका सार्थक सङ्घीयताका लागि संविधान संशोधनबारे उनी मौन देखिए, बरू सङ्घीय सरकारको समृद्धिको नारामा मोहित पाइए।

याे पनि पढ्नुस  सिके राउतः सरकारले मागे भन्दा १० गुणा दियो

तराई केन्द्रित राजनीतिमा उनको ताजा शुरूवात त्यसैले चुनौतीपूर्ण छ।

तराईका बहुसङ्ख्यक जनताले नेपालभित्र नै आफ्नो सुरक्षित भविष्य देखेका छन्।

त्यस अर्थमा सीके राउत सही बाटोमा आए।

उनको सङ्गठन असन्तुष्टिको एउटा चरम ‘स्पेश’ थियो।

अब उनको सङ्गठन प्रतिस्पर्धाको राजनीतिमा यथावत रहँदैन।

यसै कारण पनि उनको बाटो सरल छैन।

सरकारले उनलाई तराई केन्द्रित दलहरूविरूद्ध ‘तुरुप’का रूपमा प्रयोग गर्ने सम्भावना पनि त्यत्तिकै छ।

उनको अवतरणले उनलाई देखाएर हुनसक्ने सरकारी दमन हालका लागि रोकिएको छ।

सीके राउतलाई सरकारले जसरी ‘सेलिब्रिटी’का रूपमा प्रस्तुत गर्यो, मूलधारतिर रहेकाहरू तीनछकक्क परेका छन्।

गृह मन्त्रालयमा हुनसक्ने सहमतिको कार्यक्रमलाई त्यति भव्यताको खाँचो थिएन।

यसले पनि सीके राउतलाई सरकारी ‘खेलौना’ बनाइने आकलन कतिपयको छ।

बिबिसी नेपालीमा प्रकाशित भएको राजनीतिक विश्लेषक चन्द्र किशोरको आलेख।

कमेन्ट गर्नुहोस्