काठमाडौं, फागुन २९ । पदपूर्ति हुन बाँकी २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन खुल्ने भएको छ । ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुल्ने भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको जानकारी दिए ।
मन्त्रालयले रोजगार संयोजकका लागि गएको माघ १८ गतेसम्म आवेदन मागेको थियो । २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए ।
प्रारम्भिक योग्यता क्रममा छानिएका उम्मेदवारको फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो ।
परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था गरिएको थियो । तर ७ सय ५३ वटै स्थानीय तहमा एक–एक जना रोजगार संयोजक आवश्यक भए पनि ५ सय २१ जना उत्तीर्ण भएका थिए । मागअनुसार पदपूर्ति हुन नसकेको २३२ वटा स्थानीय तहमा फेरि पुरानै प्रक्रियाबाट पदपूर्ति हुन लागेको हो।