सहरी क्षेत्रको खानेपानीमा समेत लगानी गर्न विश्व बैंकलाई खानेपानी मन्त्रीको आग्रह 

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताएकी छिन् ।

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच आज बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुऱ्याउन सरकार योजनाका साथ अघि बढिरहेको बताइन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उनले भने, “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तरपनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।”

याे पनि पढ्नुस  विश्व बैंकका अध्यक्षद्वारा अप्रत्यासित रुपमा राजीनामा

ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गरिन् ।

उहाँले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरिन् ।

यसैबीच तराई मधेश क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराएकी थिइन् । हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उनको आग्रह थियो ।

याे पनि पढ्नुस  छ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ : मन्त्री बीना मगर

तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पुऱ्याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताइन् ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए ।

याे पनि पढ्नुस  चेलिबेटी निर्वाधरुपमा हिंड्न पाउने सुरक्षा व्यवस्था मिलाउन मन्त्री मगरको निर्देशन

विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताए । धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै उनले नेपालको खानेपानी मन्त्री भने खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै ज्ञाता रहेको आफूले पाएको बताए । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधिमण्डलसँग छलफल भएको थियो ।

 

कमेन्ट गर्नुहोस्