Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बेइजिङको बीआरआई सम्मेलनको भव्य तयारी, राष्ट्रपति भण्डारी र सी चिनफिङसँगै

बेइजिङ, फागुन ३० । चीनले झण्डै एक महिनापछि हुने दोस्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च भव्य बनाउने तयारी गरेको छ ।

अप्रिल अन्ततिर बेइजिङमा हुने सम्मेलनलाई चीनका राष्ट्रपति सी चिनफिङले उद्घाटन मन्तव्य दिने र मञ्चमा उपस्थित नेता गणबीच गोलमेच सम्मेलनको पनि अध्यक्षता गर्ने तय भएको छ।

दोस्रो बीआरआई सम्मेलनमा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्व गर्ने प्रतिनिधिमण्डल नै सहभागी हुने तयारी भइरहेको छ । काठमाडौंमा राष्ट्रपति कार्यालय स्रोतले जनाएअनुसार बीआरआई सम्मेलनमा पनि सहभागी हुने गरी राष्ट्रपति भण्डारीले अप्रिल अन्तमा चीन भ्रमण गर्ने तयारी भइरहेको छ।

नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षयता भण्डारी चीनको राजधानी बेइजिङ पुग्ने पहिलो नेपाली राष्ट्रपति हुने छिन् । यद्यपी राष्ट्रपतिको चीन भ्रमण तयारीकै चरणमा रहेकाले औपचारिक र विस्तृत जानकारी आइसकेको छैन । चीनका राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने चर्चासँगै राष्ट्रपति भण्डारीको चीन भ्रमण कार्यकारी नभएपनि महत्वपूर्ण हुने छ ।

बेइजिङमा सम्भवतः राष्ट्रपति सीले सम्बोधन गर्ने बीआरआईको राष्ट्र वा सरकार प्रमुखहरूको गोलमेच सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने छिन् । त्यसो भयो भने नेपालका राष्ट्रपतिले सहभागिता जनाएको यो पहिलो ठूलो राजनीतिक सम्मेलन पनि हुनेछ, १० वर्षयता ।

यसअघि पहिलो राष्ट्रपति डा. रामवरण यादवले चीन भ्रमण गरेका थिए तर, उनी राजधानी बेइजिङ भने पुगेनन्। पहिलो पटक सन् २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुन चीन आएका उनी दोस्रो पटक बोआओ एशिया फोरममा सहभागी हुन हाइनान पुगेका थिए ।

बेइजिङमा पत्रकारलाई ब्रिफिङ दिँदै चीनका परराष्ट्रमन्त्री वाङ यी (तस्बिरः सिन्ह्वा)

बेइजिङमा जारी चीनका दुई ठूला राजनीतिक अधिवेशनका दौरान चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पत्रकार सम्मेलन गरेर दोस्रो बीआरआई मञ्चका तीन विशेषताबारे प्रकाश पारे। उनले भने, ‘अझ उच्च स्तरीय, अझ वृहत् परिमाण र अझ प्रचूर कार्यक्रमको सहभागिता भन्ने ३ वटा विशेषता समेटेर बीआरआई सम्मेलन गर्ने चीनको तयारी छ ।’

चीनले सन् २०१९ भित्र गृहमैदानमा भव्य कूटनीतिक गतिविधि गर्ने योजना बमोजिम बीआरआई मञ्चको तयारीलाई लिइरहेको छ । हरेक वर्ष मार्चमा हुने चीनका दुई ठूला अधिवेशनका दौरान परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन अक्सर मार्च ८ तारिखका दिन पर्ने गर्दछ ।

प्रेस ब्रिफिङमा परराष्ट्रमन्त्री वाङ यीले अप्रिल अन्तमा हुने बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा ठूलो मात्रामा विदेशी उच्चपदस्थ नेताहरू बेइजिङमा भेला हुने बताए। उनले भने, ‘झण्डै १ सयभन्दा बढी देशबाट हजारौं नेता तथा प्रतिनिधिहरू सहभागी हुने निश्चित प्रायः भएको छ।’

मञ्च अन्तर्गत नै नेतागणबीचको गोलमेचका साथै व्यवसायिक समुदायको उपस्थितिमा उद्योगी सम्मेलन पनि हुने भन्दै परराष्ट्रमन्त्री वाङले गुणस्तरीय विकास नै यसवर्ष चीनले अंगाल्ने प्रमुख मुद्धा हुने जानकारी दिए । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: