विप्लव समूहले मलाई मार्न मान्छे खटायो- प्रचण्ड (भिडियो सहित)

काठमाडौं, फागुन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्न मान्छे खटाएको दाबी गरेका छन् ।

सँगै ‘जनयुद्ध’ लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको आरोप लगाउँदै उनले ‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ’ भनेर टिम खटाएको दस्तावेज भेटिँदा दुःख लागेको बताए ।

बिहीबार वाइसीएलले काठमाडौंको कोटेश्वर, पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा उनले ‘प्रचण्डलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्छ त ?’ भन्दै प्रश्न गरे ।

आफूलाई मार्न टिम खटाउनेप्रति दया लागेको भन्दै उनले राम्रोसँग सोच्न आग्रह गरे ।

राज्य कानुनअनुसार अघि बढ्ने भन्दै उनले ‘जनयुद्ध’को योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति–प्रक्रियाको पनि नेतृत्वकर्ता भएकाले अन्तिमसम्म लडिराख्ने बताए ।

याे पनि पढ्नुस  विप्लव समूहकी नेतृ सुवेदी पक्राउ

आफूहरुकै कारण देशमा परिवर्तन भएको दाबी गर्दै दाहालले भने–‘यसकाविरुद्ध लाग्नु भनेको निरंकुशता ल्याउन सघाउनु हो ।’

सहिद तथा बेपत्ताजनका परिवारलाई नेकपाको नेतृत्वमा दुईतिहाइको सरकार रहेकाले निराश हुन नपर्ने भन्दै सहिदहरुको सम्मानमा ठूलो पार्क बनाएर नाम लेखिने र त्यसो भएमा परिवारजनमा पनि खुसी आउने उनको भनाइ थियो ।

नक्कल गरेर प्रचण्ड नभइने 

‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो’, विप्लव समूहलाई लक्षित गर्दै प्रचण्डले भने, ‘सजिलो छैन प्रचण्ड बन्न पनि । यो कसैले चाहेर पनि भैहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइनँ, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए ।’

याे पनि पढ्नुस  मेलम्चीको पानी ल्याउन प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैनः प्रचण्ड

उनले नक्कल गरेर सफल नभइने भन्दै ‘नयाँ बाटो’ खोज्न समेत आव्हान गरे । साँच्चै केहि गर्नुछ भने प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रम हो । त्यो भ्रमले कहि पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । ‘मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिई राखेको छु’ उनले भने ।

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको छ। आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्, ‘राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन’

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहित तथा वेपत्ताको बलिदानीपूर्ण संघर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन् । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाएका छन् ।

हेर्नुस् भिडियो:

सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम । २०७५ फागुन ३० गते बिहिवार । पेेरिसडाँडा, कोटेश्वर, काठमाडौं ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Thursday, March 14, 2019

कमेन्ट गर्नुहोस्