Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

न्युजिल्याण्डमा भएको आतंकवादी आक्रमणमा मर्नेहरूको संख्या ४९, बंगलादेशी क्रिकेट टीम नखेलेरै फर्कियो

ढाका, चैत १ । न्युजिल्यान्डको क्राइस्टचर्चमा भएको आतंकवादी हमलापछि बंगलादेश क्रिकेट टोलीले तीन खेलको टेस्ट शृंखलाको अन्तिम खेल नखेली स्वदेश फर्किएको छ ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले शनिबार हुने भनिएको उक्त खेल रद्द गरिएको बताएको छ ।

तीन टेस्ट म्याचको तेस्रो खेल खेल्न त्यहाँ पुगेको बंगलादेशको क्रिकेट टीमका अधिकांश सदस्य शुक्रबारको प्रर्थनाका लागि जाँदै गरेको मस्जिदमा बन्दुकधारीले आक्रमण गरेका थिए ।

बंगलादेशको टोलीका टिम ब्यवस्थापक खालेद मसुदले आफुहरु चार देखि पाँच मिनेटले मात्र मस्जिद आक्रमणबाट जोगिएको बताए ।

उक्त आक्रमणमा मारिनेहरूको सङ्ख्या ४९ पुगेको छ । यीमध्ये ४१ जना डीन्ज एभेन्युस्थित अल नूर मस्जिदमा र ७ जना लिनवुड मस्जिदमा मारिएका थिए । एकजनाको मृत्यु भने क्राइस्टचर्च अस्पतालमा उपचारको क्रममा भएको थियो ।

आक्रमण श्वेत राष्ट्रवादीले गराएको आशंका

क्रिस्टचर्च अस्पतालमा गोली लागेर घाइते भएका ४८ जनाको उपचार भइरहेको बताइएको छ । एक जना २८ वर्षीय अस्ट्रेलियाली नागरिकले उक्त गोलीबारीलाई सामाजिक संजालमा लाइभ गरेका थिए ।

ब्रेन्टन ट्यारेन्ट नामले पहिचान गरिएका ती युवकले एकदिन अघि मात्रै सामाजिक संजालमा लामो मुस्लिम-विरोधी सामग्री पोस्ट गरेका थिए ।

उनले पोस्ट गरेको ४८ पृष्ठ लामो सामग्री श्वेत अतिराष्ट्रवादी घोषणापत्र रहेको बताइएको छ ।

प्रहरीले हालसम्म ट्यारेन्टलगायत ४ जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा एक जना महिला रहेको पनि बताइन्छ ।

एउटा २० वर्षीय युवकलाई प्रहरीले गाडीमा विष्फोटक र बन्दुकसहित पक्रेको छ । उनलाई शनिबार हत्याको अभियोगमा अदालतमा उभ्याइने भएको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिंडा आर्डेनले आजको दिनलाई इतिहासकै अँध्यारो दिन बताएकी छिन् ।

विश्वभरिबाट उक्त आक्रमणको भत्सर्ना हुने क्रम जारी छ । ब्रिटेनकी महारानीको अधिकारिक ट्वीटर ह्याण्डलबाट ब्रिटिश महारानीले आफू र राजकुमार फिलिप उक्त घटनाबाट स्तब्ध भएको बताएको जनाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पक्राउ पर्नेमा एकजना अस्ट्रेलियाली नागरिक भएको पुष्टि गरेका छन् । सथिया उनले उक्त व्यक्ति ‘कट्टर दक्षिणपन्थी आतंकवादी’ भएकोसमेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: