Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी हुन् इतिहासकै सबैभन्दा धनी व्यक्ति, जससँग थियो अनुमान नै लगाउन नसकिने सम्पत्ति

हाल संसारका सबैभन्दा धनी व्यक्ति एमेजनका संस्थापक जेफ बेजोस हुन् । सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्यलाई आधार मान्दा उनको अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेको छ र बेजोस आधुनिक कालका सर्वाधिक धनी व्यक्ति पनि हुन्।

यस अघि सर्वाधिक धनी व्यक्ति भनिएका बिल गेट्स हाल ९८.४ अर्ब डलरसहित दोस्रो नम्बरमा छन् भने अमेरिकी शेयर बजारका लगानीकर्ता वारेन बफेट ८२.५ अर्ब डलरका साथ तेस्रो नम्बरमा छन् ।

त्यस्तै एसियाको सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानी विश्वसूचीमा १३ औं नम्बरमा पर्छन् भने चीनका ज्याक मा २१ औं ।

तर उनीहरूमध्ये कोही पनि संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्।

को हुन् त संसारका अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति

वर्तमान समयमा धनी व्यक्तिहरूको सूचीमा अमेरिकी धनाढ्यहरूको बाहुल्य रहेको छ । यस सूचीमा विश्कै सर्वाधिक जनसंख्या भएका देश चीन र भारत क्रमशः दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

अफ्रिका महादेशमा हाल विश्वकै सबैभन्दा कम अर्बपति रहेको मानिन्छ । तर इतिहासको विवरणले भने बेग्लै कुरा भन्छ ।

अहिलेसम्मकै संसारका सबैभन्दा धनी व्यक्ति १४औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्।

मूसा आफ्नो टिम्बकटुका राजा थिए जसको राज्य विस्तार वर्तमान समयको माली, मोरीटानिया, सेनेगल, गाम्बिया, गिनिया, बुर्किना फासो, माली, नाइजर, चाड र नाइजीरियामा भएको थियो।

उनको शासनकालमा संसारभरि नै सुनको माग चरममा पुगेको थियो र उनको देशभित्र कयौं सुनखानी रहेका थिए ।

भनिन्छ उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो।

त्यो देश थियो इजिप्ट । भनिन्छ मुसा सन् १३२४ मा तीर्थयात्राका लागि मक्का गएका थिए ।

उनले छ हजार किलोमिटर यात्रा गरे र उनको शान शौकत हेर्न भरि मान्छेको लाम हुने गर्दथ्यो ।

उनीसँग ६० हजार मानिसको यात्रुदल थियो । मुसाको घोडा अघिपछि पनि हातमा सुनको लौरो समातेका ५०० मानिसको अलग दस्ता हिँड्ने गर्दथे ।

साथै ८० उँटहरू पनि सँगै हिँड्ने गर्दथे जसमा प्रत्येकको पिठ्युँमा १३६ किलो सुन हुने गर्दथ्यो।

मुसाले इजिप्टमा सर्वसाधारणलाई यति धेरै दान दिए कि त्यस क्षेत्रमा अचानक महँगी बढेर गयो ।

क्यालिफोर्निया विश्वविद्यालयमा इतिहास प्राध्यापन गर्ने रुडल्फ बुच वेअरले बीबीसीलाई भने, “मुसाको सम्पत्तिको अहिले गणना गर्दा उनी कति धनी र शक्तिशाली थिए भन्ने थाहा हुन्छ।”

ज्याकोब डेभिडसनले सन् २०१५ मा मनी डट कममा लेखेअनुसार ती अफ्रिकी राजा मान्सा मुसा अरूले अनुमान गर्न सक्नेभन्दा धेरै धनी थिए।

सन् २०१२ मा सेलिब्रिटी नेट वर्थ नामको अमेरिकी वेबसाइटले उनको सम्पत्ति ४०० अर्ब डलर भएको अनुमान गरेको थियो।

तर अर्थशास्त्रका इतिहासकारहरू उनको सम्पत्ति सङ्ख्यामा लेख्न असम्भव रहेकोमा सहमत छन्।

अहिलेसम्मका सर्वाधिक १० धनी व्यक्तिहरू

  • मान्सा मुसा(१२८०-१३३७, मालीका राजा): सम्पत्ति कति हो भन्नै नसक्नेगरी धेरै
  • अगस्टस सिजर (६३ इसापूर्व-१४इसं, रोमका सम्राट): सम्पत्ति ४६ खर्ब डलर
  • जाओ शु (१०४८-१०८५, चीनमा सङका शेनजोङका सम्राट): सम्पत्ति गणना गर्न नसकिने
  • अकबर पहिलो (१५४२-१६०५, मुगल सम्राट, भारत): सम्पत्ति गणना गर्न नसकिने
  • एन्ड्र्यु कार्नेगी(१८३५-१९१९, स्कटिश अमेरिकी उद्योगपति): ३७२ अर्ब डलर
  • जन डी. रक्फेलर (१८३९-१९३७) अमेरिकी व्यवसायी): ३४१ अर्ब डलर
  • निकोलाई एलेक्जेन्ड्रोविच रोमानोभ (१८६८-१९६७, रुसका जार): ३०० अर्ब डलर
  • मिर ओस्मान अली खान (१८८६-१९६७, भारतीय नवाब): २३० अर्ब डलर
  • विलियम द कन्क्वेरर (१०२८-१०८७): २२९.५ अर्ब डलर
  • मुअम्मर गद्दाफी (१९४२-२०११, लिबियाका लामो समय शासक): २०० अर्ब अमेरिकी डलर

बिबिसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: