अस्थिरता पैदा गर्ने तत्वविरुद्ध एकजुट होऔंः अध्यक्ष प्रचण्ड

काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिन पर्नेमा जोड दिएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, “सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायौं, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।”

गएको वर्ष सरकार र पार्टीले पूर्वाधार बनाएको उल्लेख गर्दै उनले आगामी वर्षको बजेटमार्फत विकास निर्माणले गति लिन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । मुलुक नयाँ युगतिर अगाडि बढेको भन्दै अध्यक्ष प्रचण्डले भने, “हिजोका परिवर्तन सामान्य राजनीतिक परिवर्तन हुने गर्थे, यो परिवर्तन एउटा प्रणाली नै परिवर्तन हो । प्रणाली परिवर्तन भएकाले थुप्रै संरचना बनाउनुपर्ने थुप्रै कानून, ऐन बनाउनुपर्ने र अभ्यास गर्नुपर्ने भएकाले हामीले अपेक्षा गरे अनुसारको गतिमा विकास भएन भन्ने जनगुनासो पनि सुनेका छौँ ।”

याे पनि पढ्नुस  मुलुकमा अब रोजगारी सिर्जना गर्ने शिक्षा चाहिएको छः प्रचण्ड

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन पनि ढिलो भइरहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “यो विषय टुङ्ग्याउनेबारे र अन्य राजनीतिक विषयमा पनि घनिभूत छलफलको आवश्यकता छ ।” प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा सल्लाह गरेर नै आफू त्यसतर्फ जान लागेको उल्लेख गर्दै उनले बढीमा सातदेखि दश दिनभित्र स्वदेश फर्कने प्रचण्डले जानकारी दिए ।

याे पनि पढ्नुस  ‘राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छ’

मुख्यतः आफू सीताको स्वास्थ्य उपचारका लागि गए पनि त्यहाँ रहँदा राजनीतिक भेटघाटको सम्भावना औंल्याउँदै उनले भने, “परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक छलफल हुने सम्भावना बढेको छ ।”

पत्नी सीताको उपचारका लागि परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावास एवम् अमेरिकास्थित नेपाली दूतावासले सहजीकरण गरेको पनि उनले जानकारी दिए । अमेरिकामा बस्ने नेपालीले सीताको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि वासिङटन बाल्टिमोरलगायत स्थानमा नयाँ अनुसन्धान भइरहेको जानकारी गराएका थिए । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी सीताले एक पटक अमेरिकामा उपचार गरे सञ्चो हुन्छ कि भनी मनोविज्ञान रहेका कारण पनि आफूले त्यसतर्फ जाने निर्णय गरेको उनको भनाइ थियो ।

याे पनि पढ्नुस  नेपाली क्रिकेटरको सफलताले सम्पूर्णमा उत्साह र उमंग छाएको छः प्रचण्ड

विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपाका नेता तथा कार्यकर्ता अध्यक्ष प्रचण्डको बिदाइका लागि पुगेका थिए । रासस

कमेन्ट गर्नुहोस्