Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ब्रेथलाइजर उपकरण नहुँदा मापसे जाँचमा समस्या

डोटी, चैत ४ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ ।

बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो । ब्रेथलाइजरको अभाबमा ट्राफिक प्रहरी सवारी चालकको मुख सुघेर मादकपर्दाथ सेवन गरे नगरेको पत्ता लगाउन बाध्य छन् । दिपायल जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालकको मुख सुघने विषयमा कहिलेकाहीँ त ठूलै विवाद हुने गर्दछ ।

उक्त कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धामीले जिल्लाभर एकमात्र ब्रेथलाइजर भएको र त्यो पनि बिग्रेर मर्मतका लागि कैलाली पठाएको बताए । उनले भने, ‘एउटामात्रै मेशिन थियो, त्यो पनि वर्षौं पहिले बिग्रेकाले मर्मतका लागि पठाएकाछौँ, बनेर फिर्ता नआएकाले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखामा हेरेर र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था रहेको बताए ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी केदार रजौरेले बिग्रेका ब्रेथलाइजर उपकरण मर्मतका लागि केन्द्रीय कार्यालय पठाएकामा हालसम्म फिर्ता नआएको बताए ।

उक्त कार्यालयको जिन्सी शाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीमा एक, कञ्चनपुरमा एक र अत्तरिया दुईबाहेक अन्य सात जिल्लाका कुनै पनि ट्राफिक प्रहरीसँग ब्रेथलाइजर छैन । ब्रेथलाइजरको अभाव भएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर किनिदिन स्थानीय तहसँग माग गरेका छन् । सो उपकरण रू २८ हजारसम्म रकम पर्ने र ट्राफिक प्रहरीसँग बजेट नभएकाले किन्न नसकेको बताइएको छ । कञ्चनपुरमा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर गाडी चलाउने बढ्न थालेपछि त्यहाँ रहेको जिल्ला ट्राफिक प्रहरीको आग्रहका स्थानीय भिमदत्त नगरपालिकाले हालै एउटै ब्रेथलाइजर किनिदिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

प्राय खैनी गुट्खा खाएका चालकलाई जाँच गर्दा उनीहरुले खाएको खैनी, गुट्खा ब्रेथलाइजरभित्र पर्ने भएका कारण बढी छिटो बिग्रिने गरेको ट्राफिक प्रहरीको गुनासो छ । कैलालीको अत्तरियादेखि डोटीको सिलगढीसम्म ट्राफिक प्रहरीका ७ वटा जाँच पोष्ट भएपनि कुनै पनि पोष्टमा ब्रेथलाइजर नभएकाले ट्राफिक प्रहरीलाई चालकले कति प्रतिशत मादक पदार्थ सेवन गरेको छ छुट्टयाउनै मुस्किल पर्ने गरेको बताइएको छ ।

स्थानीय निकायलाई ब्रेथलाइजर किनिदिन आग्रह गरे पनि हालसम्म कसैले पनि नकिनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी बताउँछन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: