Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजधानीको मुटुमै झाँक्री संघ, २ सय बढी सदस्य !

काठमाडौं, चैत ४ । २१औं शताब्दी, त्यसमाथि पनि देशकै राजधानीमा समेत धामीझाँक्रीकोमा उपचारका लागि घुँइचो लाग्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

अझ अचम्म त त्यतिबेला लाग्ला जतिबेला तपाईंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नै गराएर धामीझाँक्रीले झारफुक गरिरहेका छन्, भन्ने थाहा पाउनुहुन्छ ।

ढ्याङ ढ्याङ (ढ्याङ्ग्रोको आवाज) … हात गोडा झम्झमाउने रहेछ बाबु । ढ्याङ ढ्याङ … खान मन नलाग्ने रहेछ बाबु । आइतवार बिहान ११ बजेको समयमा बालाजु र नयाँ बजार जोड्ने पुलको छेवैमा रहेको एक घरको दोस्रो तलामा पुग्दा देखिएको दृष्य हो यो । एक झाँक्री ढ्याङ्ग्रो ठटाउँदै भट्ट्याइरहेका थिए ।

पुलसँगै एउटा शिव मन्दिर छ । मन्दिरको माथिल्लो तलामा ‘नेपाल झाँक्री संघ उपचार केन्द्र’, ‘नेपालभरी रहेका वोनधामी झाँक्री एकता अभियान’ लेखिएको बोर्ड झुण्ड्याइएको छ ।

कुराकानीका क्रममा थाहा भयो चेतबहादुर थिङ्ग उक्त संघका अध्यक्ष रहेछन् । झाँक्री संघ भनेर जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गराएको बताउने उनले २ सयभन्दा झाँक्रीलाई सदस्यता दिइसकेका रहेछन् ।

युवा अवस्थामा नै रहेका झाँक्री थिङ्ग आफूले यो पेशा शुरू गरेको झण्डै १५ वर्ष भएको बताउँछन् । झण्डै २ सयको संख्यामा रहेका आफ्ना चेला काठमाडौं उपत्यकामा छरिएर रहेको बताउँदै उनले देशैभरी सञ्जाल विस्तार गर्ने योजना सुनाए ।

‘देशैभरीका झाँक्रीहरूलाई गोलबद्ध गरेर आफ्नो हकहितका लागि लड्ने लक्ष्य छ । हाम्रो संस्कृति लोप हुँदै गइराखेको अवस्थामा यसलाई संरक्षण गर्ने पनि उद्देश्य हो,’ उनले भने ।

झाँक्रीका नाममा कुटपिट गर्ने, संवेदनशील अंगहरूमा छुने (दुर्व्यवहार गर्ने), धेरै पैसा असुल्ने झाँक्रीहरूलाई निरुत्साहित गर्दै कानूनको दायरामा ल्याएर आफूहरूको पेशाप्रति जनविश्वास घट्न नदिने लक्ष्य पनि झाँक्री संघले लिएको थिङ्ग बताउँछन् । यो समाचार लोकान्तर डटकमबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: