Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘शुक्लाफाँटा पर्यटन महोत्सव’ तयारीका लागि समिति गठन

कञ्चनपुर, चैत ४ । जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । सोमबार नगरपालिका कार्यालयमा बसेको सरोकारवालाको बैठकबाट महोत्सव तयारीका लागि विभिन्न उप समिति गठन गरिएका छन् ।

बैठकबाट स्रोत व्यवस्थापन समिति, आवाश तथा अतिथि सत्कार समिति, प्रचारप्रसार समिति, मञ्च÷समारोह÷कार्यक्रम व्यवस्थापन समिति र समन्वय तथा सोसिएल मार्केटिङ्ग समिति गठन गरिएको छ । स्रोत व्यवस्तापन समितिको संयोजकमा कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, आवाश तथा अतिथि सत्कार समिति संयोजकमा प्रमानन्द भण्डारी, प्रचारप्रसार समितिमा लक्षण तिवारी, मञ्च समारोह व्यवस्थापन समिति संयोजकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन शैलेन्द्र चौधरी र समन्वय तथा सोसिएल मार्केटिङ्ग समिति संयोजकमा माया प्रकाश भट्ट छन् ।

बैठकमा मूल समितिका संयोजक भीमदत्तका नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक र बाह्य पर्यटनका लागि महत्वपूर्ण क्षेत्र भएकाले प्रचारप्रसार गरिनु पर्ने आवश्यकता औल्याए ।

‘शुक्लाफाँटाको जुन जैविक विविधता छ, त्यसको ठूलो महत्व छ, शुक्लाफाँटा निकुञ्ज खुला विश्वविद्यालय जस्तो छ’ उनले भने,‘यसको प्रचारप्रसार गरी यसलाई चिनाउन आवश्यक छ, त्यसका लागि यो शुक्लाफाँटा पर्यटन महोत्सव महत्वपूर्ण हुने आशा लिएको छ ।’

भीमदत्त नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा कार्यपालिकाको बैठक आयोजना गरेको थियो ।

नगर प्रमुख विष्टले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन मार्ग निर्माण, झोलुङ्ग पुल नजिक उद्यान र पार्क निर्माण, राना थारु होम प्रवद्र्धनका लागि सहयोग गरिएको जानकारी दिए ।

भीमदत्त नगरपालिकामा झोलुङ्गे पुल आउने पर्यटकहरुलाई बाल उद्यान र पिकनिक स्पट भएर हात्तीसार हुँदै राना थारु होमस्ट पुगाउने लक्ष्य सहित पुल नजिक बाल उद्यान र पार्क बनाउन बजेट विनियोजन गरिएको छ ।

भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरिएको नगर प्रमुख विष्टले बताए । ‘भ्रमण वर्ष सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरेका छौ, त्यस अनुसार कार्य गरिरहेका छौ’ उनले भने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिका सहित सरोकारवालाले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेका हुन् । समिति गठनका लागि बसेको बैठकमा सुदूरपश्चिम प्रदेशका साँसद लाल बहादुर खड्का, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा सहित स्थानीय सरकारका प्रतिनिधि सहभागी भएका छन् ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगाको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जमा २ हजार ३ सय ४० बाह्रसिंगा छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: