Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नख्खु विस्फोटमा प्रयोग पदार्थ अति खतरनाक, कहाँबाट ल्यायो विप्लव समूहले?

काठमाडौं, चैत ५ । ललितपुरको नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ । गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एक जनाको ज्यान गएको थियो ।

नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो । यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन। सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटरलगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए।

सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो। विप्लव समूहले कमलपोखरीमा राखेको बम ७ किलोग्रामको थियो। प्रेसर कुकरभित्र नियो जेल नाइन्टी, डेटोनेटर र पाँचवटा ब्याट्री राखिएको थियो।

रिमोट कन्ट्रोल प्रणालीमा राखिएको उक्त बम विस्फोट हुन पाएन । विस्फोट भएको भए नख्खुको भन्दा बढी जनधनको क्षति हुने सुरक्षा अधिकारीले बताए । सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए । ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ । त्यसैले यो सर्वसाधारणको पहुँचबाहिर हुन्छ,’ ढकालले भने, ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज गर्यो। नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो।’

चन्द समूहले कसरी र कहाँबाट यस्तो घातक विस्फोटक पदार्थ नेपाल भित्र्यायो अनुसन्धानको विषय बनेको छ । भारतमा सुरुङ, सडक निर्माणलगायतका परियोजनामा नियो जेल विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ । नेपाली सेनाले विभिन्न परियोजना निर्माणका लागि हेटौंडास्थित सुनाचुरीमा विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । निजी कम्पनीले नेपाली सेनाको सुपरीवेक्षणमा मात्र विदेशबाट विस्फोटक पदार्थ ल्याउँछन् । स्रोतका अनुसार नेपालमा नियो जेल नाइन्टी आयात हुँदैन ।

भारतको हैदराबादमा सन् २००७ को अगस्टमा भएको आक्रमणमा पनि आतंककारीहरूले नियो जेल नाइन्टी प्रयोग गरेका थिए । विप्लव समूहले भारतका विभिन्न स्थानबाट नियो जेल नाइन्टी विस्फोटक पदार्थ खरिद गरी बम बनाउन प्रयोग गरेको सुरक्षा निकायको दाबी छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: