Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आवश्यकता परे जनमत बुझ्न ‘जनमत संग्रह’मा जान सकिने- डा. शशांक कोइराला

काठमाडौं, चैत ६ । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले राज्य धर्म निरपेक्ष र सापेक्ष दुबै नहुनसक्ने भन्दै धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि दबाब सिर्जना गर्न आव्हान गरेका छन् ।

टोखास्थित आफ्नै निवासमा बुधबार आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानसकिने बताएका हुन् ।

उक्त अवसरमा बोल्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरे ।

महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफुले पहल गर्ने बताए। उनले पार्टीको विभागहरु तत्काल गठन गर्नपनि सभापति देउवालाई आग्रह गरे।

पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउँदै कोइरालाले कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नभए कांग्रेसले ठुलो मुल्य चुकाउनुपर्ने धारणा राखे ।

महामन्त्री कोइरालाले धेरैजसो हिन्दु धर्मालम्बीहरुले आफूहरूलाई सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे।

उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: