Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भीमदत्त नगरपालिकामा डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम

महेन्द्रनगर, चैत ६  । कञ्चनपुरको भीमदत्त नगरपालिकामा डकर्मीहरुका लागि सञ्चालन गरिएको भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम सकिएको छ । भीमदत्त नगरपालिका र राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल( एनसेट) को संयुक्त आयोजनामा सात दिने तालिम सञ्चालन गरिएको हो ।

दरो घर, दिगो वस्तीको नारा सहित सञ्चालन गरिएको तालिममा २५ जना डकर्मी सहभागी भएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा कार्यक्रम गरी तालिम समापन गरिएको छ । समापन कार्यक्रममा नगर प्रमुख विष्टले सुरक्षित आवाश र दिगो वस्ती बनाउने लक्ष्य अनुसार एनसेटसंग सहकार्य गरी तालिम सञ्चालन गरिएको बताए ।

‘भीमदत्तलाई समृद्ध नगर बनाउने लक्ष्य लिएर नीति तथा कार्यक्रम बनाएर अघि बढेका छौ, त्यसका लागि सुरक्षित वस्ती आवश्यक छ’ उनले भने,‘सुरक्षित वस्ती बनाउने, दिगो वस्ती विकासका लागि सहकार्य गरी तालिम सञ्चालन गरिएको छ, आगामी दिनमा यसलाई निरन्तरता दिनेछौ ।’

भवन सँहिता कार्यान्वयनका लागि नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरिएको बताए ।
आर्थिक वर्ष २०७२÷०७३ देखि भीमदत्त नगरपालिकाले भवन सँहिता लागू गरेको थियो । भवन सँहिता अनुसारका भवन निर्मााणका लागि दक्ष डकर्मी उत्पादनका लागि तालिम सञ्चालन गरिएको हो । विगतदेखि डकर्मीको दक्षता बढाउन तालिम सञ्चालन हुँदै आएका छन् ।

भीमदत्त नगरपालिकामा हालसम्म ८ हजार घरको नक्सा पास गरिएको छ । चालु आर्थिक वर्षका लागि नगर सभाबाट निर्णय गरी भवन सँहिता लागू हुन अघि निर्माण गरिएका भवनको नक्सा पासका लागि ६ महिनाको समय दिइएको थियो ।

भीमदत्त नगरपालिकाका भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर गोरख बहादुर सिहले भवन सँहिता कार्यान्वयनका लागि दक्ष जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिएको बताए ।

‘भवन सँहिता अनुसार भूकम्प प्रतिरोधी घर बनाउन पर्छ, त्यसका लागि दक्ष डकर्मी आवश्यक हुन्छ’ उनले भने,‘यो तालिमबाट डकर्मीहरुको क्षमता वृद्धि भएको छ, त्यसबाट भवन निर्माणमा सहयोग पुग्ने आशा राखिएको छ ।’

तालिममा एक जना महिला डकर्मी बाहेक सबै पुरुष सहभागी भएका छन् । भीमदत्त नगरपालिका वडा नं. १९ का डकर्मी अनिता रानाले तालिमबाट घर निर्माणमा सहयोग पुग्ने बताइन् ।

‘मजदुरी गर्दै गर्दा घर निर्माण सिके, अहिले घर बनाउँछु, भूकम्प प्रतिरोध घर पनि बनाएको छु’ उनले भनिन्,‘यो तालिमबाट सहयोग पुग्छ ।’
समापन कार्यक्रममा कार्यक्रमका अध्यक्षतामा नगर प्रमुख विष्ट सहित निमित्त कार्यालय प्रमुख पदमराज जोशी, प्रशासकीय अधिकृत हरि सिह धामी, इन्जिनियर हिमालय सिह ऐर, एनसेटका इन्जिनियर रविन्द्र प्रसाद बोहरा, स्थानीय भवन निर्माण संघका अध्यक्ष विकास श्रेष्ठ लगायतले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरे । एनसेटका इन्जिनियर बोहरा सहित जगदीश विष्ट र सव इन्जिनियर गणेश बमले प्रशिक्षण दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: