Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लिङ्ग घुमाउँदै फागूको बिदाई

भक्तपुर, चैत ६ । भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी पुर्‍याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व बुधबार साँझबाट सम्पन्न भएको छ। भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई बिदाइ गरेका छन।

भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो। सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म होली मनाएका हुन। भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमका रूपमा एक सातासम्म प्रदर्शनमा राखिएको काठबाट निर्मित लिङ्गलाई आज साँझ मन्दिरबाट स्थानीयवासीले काँधमा बोकेर ब्रह्मायणी मन्दिर नजीकै हनुमन्ते खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन भएको हो।

काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याएको थियो। भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउछन। चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु शुरु परम्परा रहेको छ। घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ।

बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुण्ड्याइन्छ। झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ। दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ।

चीर स्वायगू अर्थात् लिङ्ग झुण्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ। फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रूपमा होली समापन भएको छ। छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेको प्रतिस्पर्धा चल्ने गर्दछ। रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: