Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एसईई दिँदै गरेकी सांसद चौधरी भन्छिन्, ‘ममी, कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्’

रीता लामा, दाङ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै छिन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ सुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् ।

उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसईईको परीक्षा दिँदै छिन् । ‘यसपालि त म छोरीसँग परीक्षा दिँदैछु, उनले हाँस्दै भनिन्, ‘ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।’ उनले छोरीसँग प्रतिस्पर्धा गर्नुको अप्ठेरो सुनाइन् ।

नियमिततर्फ महेन्द्र आधारभूत विद्यालय, तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी (सिम्बोल नम्बर ०५८८४५३ भी) तुलसीपुरबाटै परीक्षा दिँदै छिन् । उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौंबाट परीक्षा दिँदै छिन्। नेकपा संसदीय दलका सचेतक चौधरीले भनिन्, ‘व्यस्तताको कारण नियमित कक्षा जान पाइनँ, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।’ बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उहाँको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुग्नुभएका नेतृ चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उनलाई पटकपटक घोच्यो र विद्यालयमा भर्ना भइन् ।

२०६४ सालमा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझ्नुभयो र पढ्नतिर लागिन् । केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनी बताउँछिन् ।

सुरुसुरुमा कक्षा ८ र ९ मा नियमित विद्यालय पनि गइन् । डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उनलाई अचम्म लाग्छ । ‘उनीहरु कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ हैं’ भन्दै हाँस्छन् । उनीहरुको हँसाइले आफूलाई झन् पढ्नु पर्दो रहेछ भन्ने सांसद चौधरीलाई लाग्छ ।

सुरुमा स्कुल जाँदा उनलाई आफ्नै बुबाआमाले समेत विश्वास गर्नुभएन । असी वर्ष कटिसक्नुभएका बुवा हसुलाल र ७५ वर्षीया आमा कुन्तीले सुरुमा त ‘विद्यालय नै नजाने मान्छेले पनि किन पढ्न कस्सिएको होला, नचाहिने काम गर्ने ?’ भन्नुहुन्थ्यो रे । पछि नियमित विद्यालय जाने पढ्ने गरेको देखेपछि विश्वास गरेको उनी सुनाउँछिन् ‘सुरुमा विद्यालय जाँदा, तँलाई साना केटाकेटीले जिस्काउँदैनन भनेर बुवाआमाले सोध्नुभयो’ उनले भनिन् ‘अब त मेरा भाइका साना छोराछोरीलाई शान्ता फुपूले जस्तै पढ्नुपर्छ भनेर सिकाउनुहुन्छ ।’ नेतृ चौधरीले पढाइप्रति मोह देखाउन थालेपछि उनका बुबाआमा आफूहरुले छोरीलाई पढाउन नसकेकामा पछुतो मान्छन् ।

सांसद चौधरी घरमा आनन्दले पढ्न पाउदिनन् ‘माननीय भन्छन्, जिल्लामा हुने हरेक सानाठूला औपचारिक कार्यक्रममा सबैले सम्झिन्छन्’ उनले भनिन्, ‘गएन भने पनि जनताले बोलाएको ठाउँमा आउँदिन भन्छन्, त्यसैले म नकार्न सक्दिनँ । गयो भने पढ्ने समय पाइँदैन ।’ उनले पछिल्लो एक हप्तायता औपचारिक कार्यक्रममा जान छाडेकी छन् ।

अब परीक्षालाई ध्यानमा राखेर भाषण गर्ने कार्यक्रममा जान छाडेको उनले बताइन् । उनी राति पढ्न गाह्रो भएपछि प्रायः बिहान र दिउँसो पढ्छिन् । ‘रातिसम्म धेरै बस्न सक्दिन । पूरा समय सुत्नुपर्छ भन्ने लाग्छ, त्यसैले छिट्टै सुत्छु । बिहान छिटो उठेर पढाइ थाल्छु ।’ उनलाई जति सक्यो धेरै ग्रेड ल्याउने ध्याउन्न छ । उनलाई अरु सबै कामभन्दा पढ्ने काम सबैभन्दा गाह्रोजस्तो लाग्छ तर पनि यही गाह्रो काम गर्न उनी कस्सेकी छन् ।

उनलाई सबैभन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ । अङ्ग्रेजीमा त उनी बोल्न सक्छिन् तर व्याकरण मिलाएर लेख्न भने अप्ठेरो लाग्छ । एसईईपछि माथिल्लो कक्षामा ग्रेडअनुसारको विषय छान्ने उनको धोको छ । जसरी भए पनि पढाइ भने नछाड्ने उनले बताइन् । ३८ वर्षीया चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: