Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘शुक्लाफाँटा पर्यटन महोत्सव’ सफल बनाउने सम्पूर्ण स्थानीय तहद्वारा प्रतिवद्धता

कञ्चनपुर, चैत ८ । शुक्लाफाँटा घुम्न जाऔं भन्ने नारा सहित आयोजना हुन लागेका शुक्लाफाँटा पर्यटन महोत्सव सफल बनाउन सबै स्थानीय तह एकजुट भएर लाग्ने भएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा शनिबार कृष्णपुर नगरपालिकामा गरिएको सबै स्थानीय तहका प्रमुख र उप प्रमुखको बैठकमा महोत्सव सफल बनाउन सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भीमदत्त नगरपालिकाको संयोजनकमा सबै स्थानीय तह र सरोकारावाला निकायले संयुक्त रुपमा चैत १५ देखि २१ गतेसम्म महोत्सव गर्न लागेका छन् । बैठकमा शुक्लाफाँटा पर्यटन महोत्सव, स्थानीय तहको बजेट विनियोजन, आर्थिक स्रोत व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्दाफाँटामा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भएकाले सबै स्थानीय तहले सहयोग गर्ने बताए । ‘यो निर्कै महत्वपूर्ण महोत्सव हो, यसलाई सफल बनाउन सबैले लाग्ने निर्णय गरिएको छ, यसलाई सफल बनाउन सबै तहको प्रतिवद्धता आएको छ’ उनले भने ।

जिल्ला समन्वय समितिको अगसवाईमा विकास निर्माण सहित समसामयिक विषयमा स्थानीय तहका प्रमुख र उप प्र मुखबीच मासिक रुपमा बैठक आयोजना हुँदै आएको छ । भीमदत्त नगरपालिकाबाट सुरु गरिएको बैठक यस अघि शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा बसेको थियो । बैठककमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटालाई प्रमुअ पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित सबै तहको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको बताए ।

‘शुक्लाफाँटालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित भीमदत्तको संयोजनमा सबै तहको आयोजनामा यो महोत्सव हुन लागेको छ’ उनले भने,‘यसबाट शुक्लाफाँटाको प्रचारप्रसार भएर आन्तरिक र बाह्य पर्यटक आउने विश्वास लिएका छौ ।’ शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनका लागि बेल्डाँडी र बागफाँटा प्रवेशद्वार खोल्ने कार्य अघि बढेको उल्लेख गर्दै उनले भीमदत्त नगरपालिकाको वडा नं. १४ मा सञ्चालन गरिएको होमस्टे प्रवद्र्धन र शुक्लाफाँटा नगरपालिकामा होमस्टे सञ्चालन गर्न लागिएको बताए ।

शुक्लाफाँटा प्रवेशका लागि सवारी साधनको शुल्क महँगो भएकाले त्यसलाई घटाउन निकुञ्ज सहितका निकायसित पहल गरिएको नगर प्रमुख विष्टले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजगर गरी शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएकाले शुक्लाफाँटा जाऔ भन्ने नारा सहित आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्जभित्र लगिने बताए ।

‘यो महोत्सवमा कुनै स्टल हुने छैन, उद्घाटन कार्यक्रममा सबै जना हुनेछौ, उदघाटनपछि दैनिक सात दिन निकुञ्जभित्र घुम्न जान्छौ’ उनले भने,‘यसरी तीन हजारदेखि तीन हजार पाँच सयसम्म पर्यटक निकुञ्ज घुम्ने छन्, यो ऐतिहासिक नै हुनेछ ।’ शुक्लाफाँटा निकुञ्ज घुम्नका लागि नगरपालिकाले कर्मचारीलाई एक दिनको विदा दिने निर्णय गर्ने विषयमा छलफल गरिएको नगर प्रमुख विष्टले बताए ।

‘कर्मचारीलाई घुम्नका लागि एक दिनको विदा दिने निर्णय कार्यपालिकाबाट गराउने गरी छलफल गरिरहेका छौ’ उनले भने । बैठकमा शुक्लाफाँटाका नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले शुक्लाफाँटा महोत्सव पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसका लागि सक्दो सहयोग गरिने बताए । ‘यो महोत्सव राम्रो छ, यसमा पर्यटन बोर्डको पनि सहयोग आवश्यक छ, प्रदेश सरकारसित पनि समन्वय गरी जानु पर्ने हुन्छ’ उनले भने । शुक्लाफाँटा नगरपालिकाले पनि जनप्रतिनिधि, कर्मचारी सहितलाई एक दिन घुम्नका लागि उत्पेरित गर्ने नगर प्रमुख ऐरले बताए ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले महोत्सवमा जनप्रतिनिधि, कर्मचारी सबैलाई सहभागी हुने गरी तयारी गरिने बताए । बैठकमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, बेदकोटका नगर उप प्रमुख सुशिला सिह, शुक्लाफाँटाका नगर उप प्रमुख तुलसी हमाल, कृष्णपुरका उप नगर प्रमुख रमिता राना, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला कार्की, लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक, उपाध्यक्ष सत्यादेबी महरा, बेलौरी नगरपालिकाका नगर उप प्रमुख चित्रा चौधरी र पुनर्वास नगरपालिकाका नगर उप प्रमुख शारदा विष्ट सहभागी भएका छन् । अर्को बैठकमा बेल्डाँडी गाउँपालिकामा बस्ने निर्णय गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: