प्राविधिक कारणले गर्दा जापान उडान दुई महिना लाग्ने

काठमाडौँ, चैत १० । प्राविधिक कारणले अलमलमा परेको नेपाल वायुसेवा निगमको जापान उडान करिब निश्चित भएको छ ।

दुई देशका उच्च व्यवस्थापकको यसै हप्ताको छलफलपछि जापान उडानको प्रक्रिया अन्तिम चरणमा पुगेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । शुरुमा जापानको ओसाका उडानको तयारी गरिरहेको निगमका लागि त्यहाँको ग्राउन्ड ह्यान्डलिङ कम्पनी सीकेटीएसले अनुमति नदिएपछि त्यहाँको उडान अनिश्चित बन्न पुगेको थियो तर नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भएपछि ह्यान्डलिङको सुविधा पाउने निश्चितजस्तै भएको उनले बताए ।

वार्तामा भएको सहमतिअनुसार निगमले जापानको नागरिक उड्डयन ब्यूरोलाई आवश्यक कागजात उपलब्ध गराइसकेको छ । सम्भवतः आगामी हप्ता ग्राउन्ड ह्यान्डलिङको विषय औपचारिक रूपमा टुङ्गो लाग्ने कोइरालाले जानकारी दिए । यो विषय टुङ्गो लागे पनि जापान उडानको अनुमतिका लागि निगमले नियमानुसार ४५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने हुन सक्छ । कहिलेकाहीँ १०–१५ दिनमै पनि अनुमति पाउन सक्ने अवस्था रहन्छ, उनले भने । जापानबाट अनुमति पाएपछि उडान सम्बन्धि मार्केटिङलगायतका तयारी गर्दा करिब एक महिना लाग्न सक्ने उहाँले बताउनुभयो । यो सबै प्रक्रिया पूरा गर्दा उडान शुरु हुन कम्तीमा दुई महिना लाग्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
जापानले शुरुमा ओसाका विमानस्थलमा हप्तामा दुईवटा उडानको योजना बनाएको छ । त्यसपछि नारिता विमानस्थलमा पनि उडान गर्ने निगमको तयारी छ । नारितामा उडानका लागि ग्राउन्ड ह्यान्डलिङको अनुमतिका लागि आवश्यक तयारी भइरहेको कोइरालाले जानकारी दिए । ओसाकामा कागजात बुझाइसकेपछि नारिताका लागि कागजात पाठउने काम गर्छौं, उहाँले भन्नुभयो । नारितामा पनि हप्तामा दुई उडान गर्ने निगमले जनाएको छ ।

करिब १२ वर्षअघि जापान उडान बन्द हुनुभन्दा पहिले निगमले ओसाकामा उडान गर्दै आएको थियो । उक्त विमानस्थलमा पहिले पनि उडानको अनुभव रहेकोले सहज हुने जापानको नागरिक उड्डयन ब्यूरोको सुझावलाई पनि मध्यनजर गर्दै ओसाकामा पहिले उडान गर्ने तयारी गरिएको उहाँले बताए । ओसाका उडानको केही समयपछि मात्रै नारिता उडान हुने उहाँले जानकारी दिए ।

गोन्झोउ पनि अन्तिम चरणमा

निगमले चीनको गोन्झोउमा समेत उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि गोन्झोउ उडानमा प्राप्त ग्राउन्ड ह्यान्डलिङको सुविधाको अवधि समाप्त भएकाले त्यसको नवीकरणको तयारी भइरहेको कोइरालाले जानकारी दिए । त्यसको अनुमतिका लागि आवश्यक कागजातको अहिले समीक्षा भइरहेको उनले बताए । गोन्झोउमा कागजात पठाइसकेपछि त्यहाँको नियमानुसार उडान अनुमतिका लागि ३० दिनको समय लाग्छ । गोन्झोउ र जापानको ओसाका उडान करिब एउटै समयमा हुने अनुमान निगमले गरेको छ ।

लामो दूरीको उडानका लागि निगमले यसै वर्षको जेठ र साउनमा नेपाल भिœयाएका दुईवटा वाइड बडी एयरबस जापानमा उाडन अनुमति नपाउँदा छोटो दूरीका दुबई र साउदी अरबमा सीमित हुन पुगेका छन् । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: