Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सर्बियासँग पोर्चुगल बराबरीमा रोकियो, रोनाल्डो घाइते

एजेन्सी । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि साविक विजेता पोर्चुगलले सुखद नतिजा निकाल्न सकेन । समूह ‘बी’ अन्तर्गत मंगलबार बिहान घरेलु मैदानमा खेलिएको आफ्नो दोस्रो खेलमा पनि पोर्चुगल बराबरीमा रोकियो । दोस्रो खेलमा पोर्चुगललाई सर्बियाले १—१ गोलको बराबरीमा रोकेको हो ।

यसअघि आफ्नो पहिलो छनोट खेलमा पनि पोर्चुगललाई उसैको मैदानमा युक्रेनले गोलरहित बराबरीमा रोकेको थियो । खेल सुरु भएको सातौं मिनेटमै सर्बियाले अग्रता लिएको थियो । सर्बियाका लागि डुसान टाडिचले पेनाल्टीमार्फत गोल गरेका थिए ।

तर, पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि पोर्चुगलका लागि ड्यानिलो पेरेइराले जवाफी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । करिब ७० प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि पोर्चुगलका खेलाडीले सर्बियाको बलियो रक्षापँक्तिलाई चिर्न सकेनन् ।

खेलका क्रममा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएपछि पोर्चुगललाई दोहोरो घाटा लागेको थियो । रोनाल्डो ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको बताइएको छ । उनी ३१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

सोही समूहको अर्को खेलमा युक्रेनले लग्जम्बर्गलाई उसैको मैदानमा २—१ गोलले पराजित गर्‍यो दुई खेल खेलेको युक्रेन चार अंकसहित पहिलो, लग्जम्बर्ग तीन अंकसहित दोस्रो र पोर्चुगल दुई अंकसहित तेस्रो स्थानमा आसिन छन् । यसैगरी एक खेल खेलेको सर्बिया एक अंकसहित चौथो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: