त्रिविका सबै कार्यक्रमको मूल्यांकन अब ग्रेडिङमा गर्ने तयारी

काठमाडौं, चैत १२ । त्रिभुवन विश्वविद्यालयमा सञ्चालित सबै संकाय र अध्ययन संस्थानका कार्यक्रमको मूल्यांकन लेटर ग्रेडिङमा गर्ने तयारी भएको छ ।

सबै कार्यक्रममा समानता ल्याउन तथा ग्रेडिङको अवधारणा बुझाउन त्रिविले देशका विभिन्न स्थानमा तालिम तथा छलफल गरिरहेको छ । त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले अन्तर्राष्ट्रियस्तरमा प्रतिशतभन्दा ग्रेडिङको अभ्यास राम्रो मानिएकाले त्रिविले पनि सबै कार्यक्रममा ग्रेडिङबाटै मूल्यांकनको तयारी गरेको बताए ।

उनका अनुसार सेमेस्टर प्रणालीमा सञ्चालित कार्यक्रमको लेटर ग्रेडिङमा मूल्यांकन भइरहेको छ । त्रिविले इन्जिनियरिङ, मेडिकल, एग्रिकल्चर अध्ययन संस्थानलाई मूल्यांनको आधार तय गर्न अधिकार दिएको छ । त्रिविले मानविकी, कानुन, शिक्षा, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका कार्यक्रममा एकरूपता ल्याउने तयारी गरेको छ ।

यी संकाय तथा अध्ययन सञ्चालनअन्तर्गतका स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीमा कार्यक्रम सञ्चालित छन् । कतिपयले स्नातक तहका कार्यक्रम पनि सेमेस्टर प्रणाली सञ्चालन गरी लेटर ग्रेडिङमा मूल्यांकन गरेका छन् । त्रिविका उपकुलपति खनियाँले स्नातक तहका नयाँ कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन गरी ग्रेडिङमै मूल्यांकन गर्ने व्यवस्था गरेको बताए ।

सेमेस्टरमा नतिजा राम्रो

त्रिविमा वार्षिकभन्दा सेमेस्टर प्रणालीका कार्यक्रमको नतिजा राम्रो छ । शिक्षाशास्त्र संकायमा पहिलो र दोस्रो सेमेस्टरको नतिजा ४५ प्रतिशतको हाराहारी मात्र छ । तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थी संख्या घट्ने भएकाले उत्तीर्ण प्रतिशत ७५ भन्दा माथि छ ।सेमेस्टर प्रणाली लागू भएपछि मानविकीमा ८० देखि ९० प्रतिशत उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायको स्नातकोत्तरमा पनि औसत उत्तीर्ण प्रतिशत ७५ छ । मेडिकल, इन्जिनियरिङ, एग्रिकल्चरजस्ता प्राविधिक विषयमा तुलनात्मक रूपमा नतिजा पहिलेदेखि नै राम्रो छ ।

त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा पनि बिएस्सीको नतिजा कमजोर पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७४ मा बिएस्सी अध्ययन गर्ने विद्यार्थी ४०।५८ प्रतिशत उत्तीर्ण भएका छन् । सोही वर्ष बिएमा ४४।५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो छ । नयाँपत्रिकादैनिकबाट

कमेन्ट गर्नुहोस्