Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकै दिन विप्लवका २१ कार्यक्रता पक्राउ

काठमाडौं, चैत १३ । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरू पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ ।

चन्द समूहको ‘तमुवान जनपरिषद् संयोजक’ किसानसिंह गुरुङ मंगलबार पोखरा–२७ रिठेपानीबाट पक्राउ परेका छन् । दमौली संवाददाताका अनुसार मंगलबारै तनहुँ, व्यास–६ का अखिल नेपाल क्रान्तिकारी लमजुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर–५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यस्तै, पूर्वी नवलपरासीबाट चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दर्निया पनि पक्राउ परेका छन् । दुवैलाई प्रहरीले सोमबार राति घरबाटै पक्राउ गरेको हो । अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेका ज्ञवाली नवलपरासी इन्चार्ज भएपछि खैरनीमा बस्दै आएका थिए । स्थानीयका अनुसार मर्दनियालाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । दुवैलाई कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै, चन्द समूहका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य पनि मंगलबार पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४, सर्दीस्थित उनको घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राई र साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जय र महेन्द्र चन्द समूहका जिल्ला सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएको प्रहरीले जनाएको छ । राजविराज संवाददाताका अनुसार सप्तरीमा चन्द समूहका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव सोमबार पक्राउ परेका छन् ।

विराटनगर संवाददाताका अनुसार प्रहरीले इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङ पक्राउ परेका छन् । संखुवासभाको पाँचखाल नगर कमिटी इन्चार्ज भीम राई पनि पक्राउ परेका छन् । सुनसरीको इटहरी हलगडाबाट चन्द समूहका कार्यकर्ता रमेश खडकालाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: