Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सडक मर्मतमा १८ करोड

वीरेन्द्रनगर, चैत १३ । कर्णाली प्रदेश सरकारले १८ करोड बजेटले वीरेन्द्रनगर नगरपालिकाभित्रका १७ वटा सडक मर्मत गर्ने भएको छ । केन्द्र सरकारको समपुरक अनुदानबाट प्राप्त रकमले स्तरोन्नतिका नाममा प्रदेश सरकारले वीरेन्द्रनगरका शहरी सडक टालटुल गर्ने भएको हो ।

आवको ९ महिना सकिन लाग्दा प्रदेश सरकारले सडक स्तरोन्नतिको काम थाल्ने तयारी गरेको छ । १८ करोड ४१ लाख ९२ हजार बजेटले चालु आवमा सहरी सडकलाई मर्मत गर्ने गरी प्रदेश सरकारले काम थालेको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले नगरभित्रका सडकहरूको मर्मतका लागि तत्काल मात्रै ६५ करोड आवश्यक पर्ने बताए । प्रदेश सरकारले करिब २० करोडको पेरिफेरिमा पर्ने गरी सडकहरू छुट्याउने भनेकाले सोहीअनुसार डीपीआर बनाएर बुझाएको उनले जानकारी दिए ।

नगरपालिकाका उपप्रमुृख मोहनमाया ढकालले सडक मर्मत प्रदेश सरकारले गर्ने भए पनि विस्तृत योजना प्रतिवेदन (डीपीआर) नगरपालिकाले नै बनाएर सहयोग गरेको बताइन् । ‘काम प्रदेश सरकारले गर्ने हो,’ उनले भनिन्, ‘हामीले त प्राविधिक सहयोगमात्रै गरिदिएका हौं ।’

प्रदेश सरकारले आवको अन्त्यतिर आएर सडक मर्मतको काम थालेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नागरिक सरोकार संघ सुर्खेतका अध्यक्ष पीताम्बर ढकालले सीमित बजेटले राजधानी सहरको विकास हुन नसक्ने बताए । ‘राजधानी त प्रदेशको गहना हो,’ उनले भने, ‘बजेट खर्च गरेको मात्रै देखाएर त कसरी यसको विकास हुन्छ ?’

समयमै बजेट ल्याएर काम सुरु गर्नुपर्ने उनको भनाइ छ । १८ करोडले १७ वटा सडकको मर्मत गर्ने लक्ष्य राखेरगुणस्तरयुक्त विकास नहुने उनको दाबी छ ।

प्रदेश सरकारले वीरेन्द्रनगर (६ भित्र हटिया–घण्टाघरसम्मको सडक मर्मतका लागि २३ लाख, वीरेन्द्रनगर ९६ र ७ मा पर्ने घण्टाघर–अख्तियार चोकसम्मका लागि ५३ लाख ६१ हजार, वडा नम्बर ७ मा अख्तियार चोक–गुरुङचोक सडकमा ८५ लाख २२ हजार, गुरुङचोक–प्रदेशसभा हलसम्मको सडकमा ७१ लाख तीन हजार बजेट विनियोजन भएको छ ।

गुरुङचोक–प्रदेश प्रहरी कार्यालयसम्म ४४ लाख ४३ हजार, वडा नम्बर ६, ७ र ८ मा ड्रेन कन्स्ट्रक्सनका लागि दुई करोड ६२ लाख ६४ हजार, नेपाल कम्युनिस्ट पार्टीको कार्यालयदेखि भ्याली भ्यूसम्मका लागि ४८ लाख ६१ हजार, आँखा अस्पताल–टेलिकम चोकसम्मका लागि ८७ लाख ६७ हजार विनियोजन गरिएको छ ।

वीरेन्द्रनगर–७ को खरखोली पुल–टेलिकमसम्मको सडक स्तरोन्नतिका लागि ४१ लाख ७२ हजार, टेलिकमदेखि इत्राम स्कुलसम्म १ करोड २२ लाख, इत्राम स्कुल–पीपल चौतारी–शिवालय चोकसम्मका लागि एक करोड ३७ लाख, बजेट विनियोजन भएको छ । त्यस्तै पीताम्बर ढकालको घरको पूर्वदेखि शमशेर घर हुँदै कटुकवा मार्गसम्मको सडक मर्मतका लागि एक करोड ५४ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

रातो पुलदेखि पश्चिम हटलाइनसम्मको सडकलाई २६ लाख ९९ हजार तीन सय ९५ रकम विनियोजन भएको छ । शिक्षा क्याम्पसदेखि शिक्षा क्याम्पसको होस्टलसम्मको सडकमा ३८ लाख ४० हजार ६ सय ३७ रकम छुट्याइएको छ । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: