२ वर्षमा ६ किमि ग्राभेल

परासी, चैत १३ । पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माणको सम्झौता मिति सकिएको तीन साता बित्यो । तर, काम भने ३० प्रतिशतमात्र भएको छ । विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले काम नगर्दा २ वर्षमा १३ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन । निर्माण सम्झौता मिति सकिइसक्दा ६ किलोमिटर सडकमात्र ग्राभेल भएको छ । एक किलोमिटर सडक पनि कालोपत्रे हुन नसक्दा राष्ट्रिय गौरवको आयोजना नै अलपत्र परेको हो ।

गोपीगन्जदेखि परासीसम्म हुलाकी सडक स्तरोन्नति गर्ने जिम्मा पाएको द कञ्चनगंगा बिरुवा शिवशक्ति कन्स्ट्रक्सनले नदीजन्य पदार्थको अभाव देखाउँदै काम रोकेको थियो । कन्स्ट्रक्सनका प्रतिनिधि मेघराज खनालले नदीजन्य पदार्थ अभावकै कारण समयमा सडक निर्माण सम्पन्न गर्न नसकिएको बताए । हुलाकी सडक निर्माणका लागि ७० हजार घनमिटर नदीजन्य पदार्थको आवश्यकता रहेको निर्माण कम्पनीले जनाएको छ ।

याे पनि पढ्नुस  बाढी गएको १८ वर्ष वित्यो, पीडितले लालपूर्जा पाएनन् !

‘समयमा जिल्लाका खोलामा नदीजन्य पदार्थको ठेक्का नलगाउँदा हामीलाई कच्चापदार्थको अभाव भयो,’ उनले भने, ‘खोला भर्खर खुले पनि मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न नपाउँदा आवश्यकता अनुसार कच्चा पदार्थ उपलब्ध भएको छैन । कच्चा पदार्थ उपलब्ध हुनेबित्तिकै कामअगाडि बढ्ने छ ।’

निर्माण कम्पनीले थप दुई वर्षको म्याद मागेको छ । सडक डिभिजन कार्यालय बुटवलका हुलाकी सडक आयोजनाका इन्जिनियर देवेन्द्र शर्माले ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा समयमा नसकिएको बताए । विभिन्न बहाना देखाउँदै काम अगाडि बढ्न सकेन । अब कच्चापदार्थ उपलब्ध गराउन स्थानीय तह र समन्वय समितिसँग सहकार्य भइरहेको उनले बताए ।

याे पनि पढ्नुस  उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले हुलाकी सडक निर्माणको गति सुस्त हुँदा समयमा काम नसकिएको बताए । ‘हामीले गर्नुपर्ने सहयोग गरिरहेका छौं तर ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै पटक–पटक काम रोक्नु राम्रो होइन,’ उनले भने, ‘अहिले फेरि कच्चापदार्थको अभाव र समय थप गर्नुपर्ने नयाँ माग अगाडि सारेका छन् ।’

याे पनि पढ्नुस  नारायणी नदीमा पानी जहाज ल्याएर छाड्ने अध्यक्ष प्रचण्डको घोषणा

यो आयोजना २५ करोड १९ लाख ७० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । २०७३ फागुनमा सुरु भएर २०७५ फागुन १४ गते आयोजना सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

धूलाम्य हुलाकी सडकमा मोटरसाइकल तथा साना सवारी साधनमा यात्रा गर्न निकै कठिनाइ भएको छ । साइकल र पैदल यात्री हिँड्न सक्ने अवस्था छैन । ओहोरदोहोर गर्न असहज भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएपछि केही दिन धूलो रोक्नका लागि सडकमा पानी हालिएको भए पनि त्यसले निरन्तरता नपाउँदा धूलोले स्थानीय अहिले आजित छन् । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्