Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भरतपुर महानगर प्रमुख दाहालद्वारा एसईई परीक्षाको अनुगमन

चितवन, चैत १३ । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गरेकी छन् ।

प्रमुख दाहालले महानगरका महानगरका ३ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गरेकी हुन् ।उनले चितवन मावि परीक्षा केन्द्र, बालकुमारी कन्या मावि र बालकुमारी मावि परीक्षा केन्द्रमा पुगेर अनुगमन गरिन् । उनीसँगै महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगर शैक्षिक महाशाखाका बाबुराम दवाडी, महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरूणपीडित भण्डारीलगायतको टोलीले परीक्षाको अनुगमन गरेको थियो ।

अनुगमनपछि महानगर प्रमुख दाहालले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताइन् । उनले भनिन्, ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीले पनि ढुक्कसँग परीक्षा दिइरहेका पाइयो ।’ उनले अब हुने एसईईको बाँकी परीक्षार्थीलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीलाई निर्देशन दिइन् ।

प्रमुख दाहालले विद्यार्थीलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गरिन् । आज विद्यार्थीले अनिवार्य गणितको परीक्षा दिएका थिए । चितवन मावि परीक्षा केन्द्रमा नारायणी नमुना मावि, बालकुमारी मावि, नयाँकिरण मावि र सिद्धिविनायक माविका विद्यार्थीले परीक्षा दिएका छन् । चितवनमा यसवर्षको एसईईमा ११ हजार २५४ विद्यार्थी सहभागी भएका शिक्षा समन्वय समितिले जनाएको छ । गत वर्ष १२ हजार १५० विद्यार्थी सहभागी भएका थिए । परीक्षा सञ्चालनको लागि चितवनमा ४२ वटा केन्द्र तोकिएको छ । गत वर्ष पनि ४२ वटा केन्द्र नै थिए ।

नियमिततर्फ ११ हजार ७ जना विद्यार्थी एसईई परीक्षा दिने शिक्षा समन्वय समिति परीक्षा शाखाका कर्मचारी रघुनाथ अधिकारीले जानकारी दिनुभयो । चितवनबाट प्राविधिक धारतर्फका १५२ जना परीक्षामा सहभागी भएका छन् । चितवनमा ६ वटा विद्यालयमा प्राविधिक धारको विषयको अध्ययन अध्यापन हुँदै आएको छ ।

भरतपुरका चितवन माविले खुला विद्यालय पनि सञ्चालन गरेको छ । आठ कक्षा पास भएर केही वर्ष खाली बसेका विद्यार्थीहरु खुलातर्फबाट परीक्षामा सहभागी हुने छन् । चितवनमा १४ जना परीक्षार्थी खुलातर्फबाट एसईई परीक्षामा सहभागी भएका छन् । ६ जना दृष्टिविहीन पनि परीक्षामा सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: