आगामी चैत २९ गते चलचित्र ‘ए मेरो हजुर ३’को प्रदर्शनमा

काठमाडौं, चैत १३ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो जीवन्त अभिनयबाट चिनिएकी चर्चिक नायिका झरना थापाको अहिले नयाँ परिचय फेरिएको छ । अहिले उनी अभिनेत्रीबाट निर्देशक भएकी छिन् । उनको डेब्यू निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ गतवर्ष प्रदर्शनमा आएको थियो । यो चलचित्र गतवर्षको सुपरहिट चलचित्रमध्येको एक हो । यही फिल्मको तेस्रो सिरिजबाट फेरि उनी निर्देशकको रुपमा दर्शकमाझ पुग्दैछिन् ।

अभिनयबाट दूरी बनाएर अब निर्देशकको रुपमा आफूलाई स्थापित गर्न संघर्षरत उनले आफूले हिँडेको बाटोमा आफ्नी छोरी सुहाना थापालाई पनि लिएर आएकी छन् । सुहानाले चलचित्र ‘ए मेरो हजुर ३’मा अभिनेता अनमोल केसीको जोडी भएर काम गरेकी छन् । ४ वर्षको हुँदा उनले यो फिल्मको पहिलो भागमा बाल कलाकारको रुपमा काम गरेकी थिइन् ।

आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को दुई गीतबाटै सुहानालाई फिल्म क्षेत्रले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ । उनको सुन्दरता र ‘एक्सप्रेसन’को धेरैले प्रशंसा गरेका छन् । अब चलचित्रमा उनको काम हेर्न दर्शकमात्र नभएर फिल्मकर्मी पनि आतुर छन् । ‘फिल्मी ब्लड’ भएका कारण उनको काम राम्रो हुने विश्वास धेरैको छ ।

बुधवार चलचित्रको ट्रेलर प्रदर्शन र आफ्नो बर्थ डे केक काट्दै अभिनेत्री तथा निर्देशक झरना थापाले छोरी सुहानाको तारिफ गर्न कुनै कसर बाँकी राखिनन् । उनले चलचित्र हेरेपछि सुहानाको जो कोहीले तारिफ गर्ने दाबी समेत गरेकी छन् । उनले भनिन्, ‘जसरी मैले विगतमा यहाँहरुको मन–मस्तिष्कमा बस्न सफल भएँ । यहाँहरुलाई रिझाउन सकेँ । सुहाना पनि यसमा सफल हुनेछिन् ।’

‘सुहानाले फिल्ममा राम्रो काम गरेकी छन् । चलचित्र हेरेपछि तपाईंहरुले पनि उसको प्रशंसा गर्ने छ । यो म एउटी आमा भएर भनेको होइन । निर्देशक भएर ‘कन्फिडेन्ट’का साथ भनेको हुँ’, उनले अगाडि भनिन्, ‘म आफू हिँडेको बाटोमा छोरीलाई पनि लिएर आएको छु । आजबाट तपाईंहरु माझ मेरी छोरी सुहानालाई सुम्पिएको छु । तपाईंहरुले आर्शिवाद र साथ दिनुहोला ।’

यो फिल्मको ट्रेलर भने बिहीवार दिउँसोमात्र युटयुबमा सार्वजनिक हुने छ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनमोल, सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत उपस्थित थिए । ट्रेलरमा अनमोललाई सुपरस्टार गायक र एक साधारण युवक गरि दुई अवतारमा देख्न सकिन्छ । फिल्मले एक स्टार र फ्यानबीचको प्रेमकथा भनेको झरना बताउँछिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: