Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अबदेखि पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्यरुपमा लगाउनुपर्ने व्यवस्था

काठमाडौं, चैत १४ । पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा बिहीबार सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रमुमा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो ।

‘पोशाक र परिचयपत्र अनिवार्यका लागि विभागले निर्णय गरिसकेको छ, अब चाँडै कार्यान्वयनमा लैजान्छौं’, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने । उनले नेपाल घुम्न आउने पर्यटकलाई राम्रो व्यवहार गर्न र इमान्दार चालक बन्न आग्रहसमेत गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पर्यटन व्यवसायको विकास र विस्तार गरी राष्ट्रलाई समृद्ध बनाउनु सबैको दायित्व रहेको बताए । ‘यस पेशामा रहेका चालकले आफ्नो पेशालाई अझै मर्यादित र सम्मानयोग्य बनाउन स्व–अनुशासनमा रही ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बसाल्नुपर्छ,’ उनले भने, ‘विमानस्थलमा आएका पर्यटकलाई नेपाल घुम्न चालकको साथ महत्वपूर्ण हुने भएकाले पर्यटकलाई राम्रो व्यवहार गर्नु आवश्यक छ । नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता प्रशिक्षणले सहयोग मिल्छ ।’

२०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल २६ स्थानमा आफ्नो शाखा विस्तार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको उक्त एकाइका प्रहरी नायब निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । पर्यटक प्रहरीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हालै काठमाडौं महानगरपालिका–२६को सहकार्यमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गर्न लागेको छ। रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: