भारतमाथि नेपालको शानदार जित

काठमाडौं, चैत १४ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले पाँचौं खेलमा पनि जित निकालेको छ । आज भएको पाँचौं एकदिवसीय खेलमा त्यहाँको आन्ध्र प्रदेश क्रिकेट टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले चौंथो जित निकालेको हो । २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।

नेपालका लागि मोहम्मद आसिफ शेखले ६५, कप्तान रोहित कुमार पौडेलले ४५, रविकुमार शाहले ३७ रन बनाए । यस्तै, भीम सार्की ४५ र कुसल मल्ल ६ रनमा नटआउट रहे । बलिङमा भारतका नितीश कुमार, पी. सुबरमन्युम, आइ. इश्माइल, बी सन्तोष र एमकेदत्त रेड्डीले एक–एक विकेट लिए ।

यसअघि, पहिला ब्याटिङ गरेको आन्ध्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएकाे थियाे ।उसका लागि रवि किरणले ४५, पी सुबरमन्युमले ३८, धरणी कुमारले ३७ र नितिश कुमारले २३, रन जोडे । बलिङमा नेपालका पवन सराफ, सूर्य तामाङले दुई–दुई, भीम सार्की, कमलसिंह ऐरी र प्रतिश जीसीले एक–एक विकेट लिए । नेपालले पाँच खेलमा ४ मा जीत र एक खेलमा मात्र हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्