Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अस्पष्ट सूचनाले ३९१ विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं, चैत १७ । पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ ।

कक्षा ११ र १२ मा न्यूनतम ग्रेड पोइन्ट एभरेज (जिपिए) २.० भन्दा माथि ल्याएर सम्बन्धनप्राप्त क्याम्पसमा व्यवस्थापनका विभिन्न कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षामा सहभागी गराउन नमानेपछि कलेजहरूले परीक्षा सञ्चालन गर्न मानेनन् । विश्वविद्यालयले न्युनतम् सी ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गर्न गत १० साउनमा सूचना गरेको थियो । सी ग्रेड भनेको २।० भन्दा माथि रहेको राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ट्रान्सक्रिप्टमा उल्लेख छ । यही मापदण्डका आधारमा कलेजहरूले गत साउनमा विद्यार्थी भर्ना गरेका थिए ।

तर, विश्वविद्यालयले परीक्षाको मुखमा आएर प्रत्येक विषयमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्ने अर्थ लगाएपछि समस्या निम्तिएको छ । विश्वविद्यालयले प्रत्येक विषयमा सी ल्याएको हुनुपर्ने भन्दै माघमा अर्को सूचना निकालेको थियो । त्यसपछि विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेजबीचको विवादले शुक्रबारदेखि हुने भनिएको परीक्षा नै स्थगित भएको छ । योसँगै पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ क्याम्पसका बिबिए, बिबिएबिआई, बिसिए, बिसिआइएस, बिएचएम अध्ययन गरेका विद्यार्थी अलपत्र परेका छन् ।

यस्तो थियो भर्नाका वेला विश्वविद्यालयले निकालेको सूचना
विश्वविद्यालयले भर्नाको समयमा सार्वजनिक गरेको सूचनालाई नै अहिले विभिन्न किसिमले व्याख्या गरिएको छ । विज्ञान प्रविधि, स्वास्थ्य विज्ञानजस्ता संकायमा भर्नाका लागि कक्षा ११ र १२ मा हरेक विषयमा कुन ग्रेड हुनुपर्ने भन्ने उल्लेख गरेको छ । तर, व्यवस्थापन संकायमा भर्नाका लागि विषयअनुसारको ग्रेड खुलाएको छैन । व्यवस्थापन संकायमा न्यूनतम मापदण्डमा अक्षरांकन पद्धतिअनुसार फाइनल ग्रेडमा सी हुनुपर्ने उल्लेख छ । सबै विषयमा सी हुनुपर्ने उल्लेख छैन । तर, अहिले विश्वविद्यालयले सबै विषयमा न्युनतम् ग्रेड सी हुने विद्यार्थीको मात्र आवेदन स्वीकार गरेको छ । सोही सूचनामै ब्याचलर अफ फार्मेसी अध्ययनका लागि न्यूनतम मापदण्डमा समग्रमा जिपिए २.४ र फिजिक्स, केमेस्ट्री र बायोलोजीरम्याथ विषयमा सी प्लस ल्याउनुपर्ने र अन्य विषयमा सी ग्रेड ल्याउनुपर्ने उल्लेख गरेको छ ।

विश्वविद्यालयले सूचनाको गलत अर्थ लगाएर विद्यार्थीलाई मारमा पार्दै छ
(नरबहादुर विष्ट, महासचिव, पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपेन)
विश्वविद्यालयले पहिले कक्षा ११ र १२ मा फाइनल ग्रेड सी ल्याउनुपर्ने सूचना निकाल्यो । तर, भर्ना भइसकेपछि माघमा फेरि प्रत्येक विषयमा सी ल्याउनुपर्ने सूचना निकाल्यो । विश्वविद्यालयको यो लापरबाहीका कारण विद्यार्थीले तनाव भोग्नुपरेको छ । विद्यार्थी मारमा पर्नुहुँदैन । विश्वविद्यालयका उच्च अधिकारीहरूले भर्ना हुनुभन्दा पहिले आफूहरूसँगको छलफलमा समेत कक्षा ११ मा जिपिए उल्लेख नगरेको र ट्रान्सक्रिप्टमा समेत सिजिपिए आउँदैन भनेका थिए । विद्यार्थी भर्ना भएर पढिसकेपछि अस्पष्ट सूचनालाई फरक तरिकाले अथ्र्याएर पन्छिन खोजेको छ ।

कलेजहरूले नियम नमान्दा विद्यार्थी मर्कामा परेका हुन्
(गोविन्दप्रसाद शर्मा, रजिस्ट्रार शर्मा, पोखरा विश्वविद्यालय)
विश्वविद्यालयको ३८औँ एकेडेमिक काउन्सिलले कक्षा ११ र १२ मा सी ग्रेड ल्याउनेलाई भर्ना गर्ने निर्णय गरेको थियो । तर, समस्या भएपछि बसेको ३९औँ परिषद्ले पनि अघिल्लो निर्णयलाई नै मान्यता दिएको थियो । त्यतिवेला सबै विषयमा सी ग्रेड ल्याएर फाइनल पनि सी हुनुपर्ने भनिएको हो । अब विद्यार्थीलाई मारमा पार्नुहुँदैन । कुलपतिले विश्वविद्यालय सभाबाट अनुमोदन गर्ने गरी निर्देशन दिनुभयो भने निकास आउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: