Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलाई चलचित्र खेलेर पैसा कमाउने कुनै इच्छा छैनः सलिनमान

काठमाडौं, चैत १७ । गतवर्ष प्रदर्शनमा आएको अभिनेत्री झरना थापा निर्देशित डेब्यू चलचित्र ‘ए मेरो हजुर २’बाट अभिनेता सलिनमान बनियाको नेपाली चलचित्र संसारमा उदय भएको थियो ।

अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्काले फिल्म गर्न अस्वीकार गरेपछि झरनाको नजरमा परेका थिए, उनी । उनको लुक्स र गेटअपले झरनालाई तानिहाल्यो र बनाइन् अभिनेत्री साम्राज्ञी आरएल शाहको हिरो ।

चलचित्र प्रदर्शन नहुँदै सलिनलाई नेपाली फिल्ममा सम्भावना बोकेको अभिनेताको रुपमा हेर्न थालिएको थियो । डेब्यू चलचित्र बक्सअफिसमा जबरजस्त हिट भएपछि सलिन राम्रै चम्किए । अभिनय कमजोर भए तापनि उनको लुक्स, हेयर स्टाइल र ड्रेसअपले दर्शकलाई भुतुक्कै बनायो । अनमोल र प्रदीपका लागि उनी ुथ्रेटु हुनसक्ने चर्चा पनि सुरु हुन थालेको छ ।

‘ए मेरो हजुर २’ गर्नुभन्दा अगाडि अत्यन्त कम नेपाली चलचित्र हेरेका उनलाई फिल्ममा लिन अहिले निर्माताबीच तानातान हुने गरेको छ । तर, उनलाई फिल्म गरेर पैसा कमाउनु छैन । सम्पन्न परिवारमा हुर्किएका सलिन दर्शकको मायाका लागि चलचित्र गर्ने बताउँछन् । ‘मलाई चलचित्र गर्ने कुनै चाहना थिएन । बरु, बडि विल्डिङमा सौख थियो । यद्यपि, फिल्ममा प्रवेश गरिहालेँ अब राम्रो काम गरेर देखाउँछु’, एक भेटमा उनी सुनिए ।

उनको दोस्रो चलचित्र ‘यात्रा’यही चैत २९ मा प्रदर्शन हुँदैछ । यसमा उनले एक भ्लगरको भूमिका निभाएका छन् । दोस्रो चलचित्रको रुपमा ‘यात्रा’ नै रोज्नुको कारणबारे उनले भने– ‘मलाई चरित्र साह्रै मनपर्‍यो । मलाई सुहाउने भूमिका भएकै कारण गरेको हुँ ।’ अभिनय कमजोर रहेको आलोचना पनि यसपटक कम हुने उनको विश्वास छ । ‘यसपटक अभिनयमा निखारता ल्याउन एकदमै मेहनत गरेको छु’, उनले भने।

सम्भवतः नेपाली चलचित्रको इतिहासमा सबैभन्दा धेरै दिन छायांकन भएको फिल्म हो ‘यात्रा’ । करीब ९५ दिन क्यामेरा ‘अन’ भएको थियो । छायांकन अवधि लम्बिएका कारण निर्माताको लगानी तेब्बर बढ्यो । निर्माता केशव भट्टराईका अनुसार, चलचित्रमा करीब ३ करोडको लगानी छ । यो लगानी सुरक्षित गर्न मात्र फिल्मले घरेलु बजारमा ९ करोड ग्रस कलेक्सन गर्नुपर्छ ।

सलिनको भरमा फिल्मले लगानी उठाउन गाह्रो रहेको फिल्म पण्डितहरु बताउँछन् । ‘यात्रा’ ले घोषणा गरेको प्रदर्शन मितिमा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ पनि भिड्दै छ । दुई फिल्म बक्सअफिसमा आमने(सामने हुँदा दर्शक र हल संख्या विभाजित हुन्छ, जसको सिधा प्रभाव कलेक्सनमा पर्छ । तर, पनि सलिन चलचित्रले लगानी सुरक्षित गर्नेमा ढुक्क छन् । फिल्म राम्रो बनेका कारण कमाई पनि राम्रो हुने उनको विश्वास छ ।

‘यात्रा’ को लिड हिरो भएका कारण सलिनको काँधमा ठूलो जिम्मेवारी छ । उनलाई निर्माताको करोडौंको लगानी ‘रिकभर’ गर्नुपर्ने चुनौती छ । साथमा वर्षकै ठूलो फिल्म ‘ए मेरो हजुर ३’ सँग भिडन्त गर्नुपर्ने छ । कति प्रेसर महशुस गरिरहनुभएको छ ? एक कफी भेटमा उनले भने ‘प्रेसर त एकदमै छ । यस्तै प्रेसर हुन्छ भनेर नै हामीले एकदमै मेहनत गरेका छौं । मलाई सबैले सहयोग गर्नुभएको छ । हेरौं अब भोली के हुन्छ । आशा छ राम्रै हुन्छ ।’

‘यात्रा’ लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । ३ दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरेका उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रमा सलिनको अपोजिटमा मलिका महत छिन् । सलोन बस्नेत, रेअर राई, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । यसलाई संजय लामाले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: