Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हो मेनेन्जाइटिस ? यस्तो छ यसको लक्षण र उपचार विधि

दिमागबाट आउने मुख्य नसा जसलाई स्पाइनल कर्ड भनिन्छ । स्पाइनल कर्डवरपर झिल्ली हुन्छन् । ती झिल्लीमा संक्रमण भएमा मेनेन्जाइटिस हुन्छ । नेपालमा मेन्जाइटिसको अवस्थाबारे खासै अध्ययन भएको छैन ।

त्रिवि शिक्षण अस्पतालको गत वर्षको तथ्यांकअनुसार न्युरो सम्बन्धी उपचाररत सात सय बिरामीमध्ये एकसयमा मेनेन्जाइटिस देखिएको थियो । जुनसुकै उमेरका मानिसमा मेनेन्जाइटिस हुन सक्छ । तर, सबैमा एउटै किसिमको हुन्छ भन्ने हुँदैन । फरक कीटाणुबाट फरक किसिमको संक्रमण हुन सक्छ ।

रोग लाग्ने कारण

मेनेन्जाइटिस सामान्यतया भाइरल इन्फेक्सनको कारणले हुने गर्छ । यसबाहेक, विभिन्न रोग, चोटपटक, क्यान्सर, निश्चित औषधि सेवन पनि यसका कारक हुन् ।

सेप्सिस, दिमागमा हुने टिबी, एचआइभी एड्स, अंग प्रत्यारोपण गरेका व्यक्तिमा प्रयोग गरिने औषधि, ढुसी (फंगल) रोग र प्रतिरोधी क्षमता घटाउने रोगका कारण मेनेन्जाइटिस हुने गर्छ ।

यसका लक्षण

– मेनेन्जाइटिस भन्नेबितिकै मस्तिष्क ज्वरोसँग जोडिएर आँउछ । मेनेन्जाइटिस हुँदा अत्यधिक टाउको दुख्ने, लगातार बान्ता हुने, निहुरिन गाह्रो हुने अर्थात् चिउँडोले छाती छुन नसक्ने आदि हुन्छ ।

– सामान्यतया मस्तिष्कले शरीरलाई नियन्त्रण गर्ने भएकाले मेन्जाइटिस हुँदा बेहोस हुने, छारेरोगको लक्षण देखा पर्ने आदिजस्ता समस्या देखिन्छन् ।

यसका किसिम

भाइरल मेनेन्जाइटिस

भाइरल मेनेन्जाइटिस सामान्य खालको मेनेन्जाइटिस हो । जो सामान्य औषधिले वा कतिपय अवस्थामा आफैँ पनि निको हुन्छ । यद्यपि, प्रायः मेनेन्जाइटिस घातक नै हुने भएकाले जाँच गर्नु अत्यावश्यक छ । भाइरल मेनेन्जाइटिस खासगरी नन पोलियो इन्टरभाइरसका कारण हुने गर्छ, जुन गर्मीको सुरुवातमा बढी फैलिन्छ । यसबाहेक इन्फ्लुएन्जा भाइरस, मेस्लेस भाइरल, भाइरल जोस्टर आदिबाट पनि हुने गर्छ । भाइरल मेनेन्जाइटिसबाट पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित हुने गर्छन् ।

ब्याक्टेरियल मेनेन्जाइटिस

ब्याक्टेरियल मेनेन्जाइटिस सबैभन्दा घातक खालको मेनेन्जाइटिस हो । ब्याक्टेरियल मेनेन्जाइटिस लामो समयसम्म भएमा बिरामीमा दिमागी असन्तुलन हुने, कान सुन्न नसक्ने, केही सिक्न नसक्नेजस्ता जटिल समस्या देखा पर्छन् । यो निमोनिया समूह बी स्ट्रेप्टोकोकस, हाइपोफिसिस इन्फ्लुएन्जा, लिस्टेरिया मोनोसाइटोजेनेसजस्ता घातक ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ । अरूको तुलनामा बच्चामा ब्याक्टेरियल मेनेन्जाइटिसको खतरा बढी हुन्छ ।

फंगल मेनेन्जाइटिस

फंगल मेनेन्जाइटिस एकदमै दुर्लभ मेनेन्जाइटिस हो । यसमा रगतको माध्यमबाट ढुसी स्पाइनल कर्डमा जान्छ र संक्रमण गराउँछ । खासगरी एचआइभी संक्रमित आदिजस्ता प्रतिरोधीक्षमता ज्यादै कम भएका मानिसमा फंगल मेनेन्जाइटिसको सम्भावना उच्च रहन्छ ।

पारासाइटिक मेनेन्जाइटिस

विभिन्न परजीवीका कारण मस्तिष्क र तन्त्रिकामा असर पुग्ने हुन्छ । जसको एउटा रूप पारासाइटिक मेनेन्जाइटिस हो । विशेषगरी, यो जनावरमा हुने गर्छ । तर, एउटाबाट अर्कोमा सर्देन । पशुजन्य खानेकुरा, राम्ररी नपकाइएका खाद्यपदार्थ आदिको माध्यमले मानिसमा यसको संक्रमण हुने गर्छ ।

अमेबिक मेनेन्जाइटिस

अमेबिक मेनेन्जाइटिस अमिबा नामक एककोषीय परजीवीका कारण हुने गर्छ । जसले मस्तिष्कमा तीव्र संक्रमण गर्ने भएकाले यो घातक मानिन्छ । खासगरी, नदी, ताल आदिमा नुहाउँदा यसको संक्रमण हुने डर हुन्छ । गर्मीयाम अर्थात् पौडी खेल्ने समयमा सो जीवाणु बढी सक्रिय हुन्छ ।

नन इफेसियन्स मेनेन्जाइटिस

नन इन्फेक्सियस मेनेन्जाइटिस कुनै संक्रमणका कारणले हँुदैन । क्यान्सर, ब्रेन सर्जरी, चोटपटक, लुपस आदिजस्ता विभिन्न रोगका कारण यो समस्या हुन्छ ।

यस्तो छ उपचार विधि

समयमै पत्ता लगाएर मेनेन्जाइटिसकोे उपचार गरेमा ८० प्रतिशतसम्म यो पूर्ण रूपमा सन्चो हुन सक्छ ।

रोगको अवस्था वा प्रकार हेरेर यसको उपचार गरिन्छ । अधिकांशमा देखिने भनेको भाइरस मेनेन्जाइटिस हो । एचआइभी इन्फेक्सनबाहेक अन्य भाइरसका कारण भएको मेनेन्जाइटिस निको हुन्छ । उदाहरणका लागि, टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने खालका लक्षण भएको अवस्थामा सामान्य औषधि खाएर नै उपचार सम्भव छ ।

ब्याक्टेरियल मेनेन्जाइटिस भएको अवस्थामा चिकित्सकको निगरानीमा एन्टिबायोटिक इन्जेक्सनबाट उपचार गरिन्छ । यसका लागि बिरामीको अवस्था हेरेर १० देखि १४ दिन तथा २१ दिन वा सोभन्दा बढी समय अस्पतालमा बस्नुपर्ने हुन्छ ।

डा. विक्रम गजुरेल, नसारोग विशेषज्ञ (त्रिवि शिक्षण अस्पताल)

एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: