Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दाइजो नपाएको भन्दै यातना दिएका कारण त्रिवि अस्पतालमा सुनिताको मृत्यु

वीरगन्ज, चैत १७ । थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

सुनीताले २०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदन समेत दिएकी थिइन् । त्यसबेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखितरुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको २०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो ।

बहिनीलाई पहिलोपल्ट माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए । मनोहर आफूसँग त्यति पैसा नभएकाले बुबालाई जानकारी गराउन भन्दै बहिनीलाई घर लिएर आएका थिए । स्थानीय प्रशासनमा सुनीताले दिएको निवेदनमा उल्लेख छ, ‘डा. सचितानन्दले बुवा कमलप्रसाद यादवलाई मारुती कार र घर खरिदका लागि पैसा माग गरेका थिए, बुबाले हाल त्यति धेरै पैसा दिने क्षमता नभएको जवाफ दिएका थिए ।’

निवेदन अनुसार घर फर्केपछि उनीमाथि झन् दुर्व्यवहार हुन थाल्यो । २०६२ जेठ २१ मा गरगहना र कपडा खोसेर वीरगन्जको घरबाट निकालिदिए । उनी हरपतगन्जस्थित पुरानो घरमा बस्न थालिन् । एउटा कागजमा सही गर्न नमानेपछि मट्टीतेल छर्केर आगो लगाउने प्रयाससमेत भएको थियो । स्थानीयका अनुसार मट्टीतेल छर्केपछि सुनीता चिच्याउँदै घरबाहिर निस्किइन् । भागेर माइती पुगिन् । त्यसलगत्तै जिल्ला प्रशासनमा उजुरी गरेकी हुन् ।

सचितानन्दले २०६४ सालतिर दाइजोकै लागि सीमावर्ती विहार, रक्सौलकी एक महिलासँग दोस्रो विवाह गरे । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले दाइजो नलिएको र सुनीतामाथि कुटपिट नगरेको दाबी गरेका छन् । ‘विवाह हुँदा म बेहुला थिएँ,’ उनले भनेका छन्, ‘दाइजोको विषयमा मलाई जानकारी भएन ।’

गम्भीर कुटपिट भएको खुलेपछि सोमबार सुनीताको माइती पक्षले सचितानन्दको परिवारविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएको थियो । प्रहरीले अब कर्तव्य ज्यान मुद्दा दर्ता गरिने जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता अनन्तराम शर्माले घटनापछि सचितानन्दको परिवार सम्पर्कविहीन रहेको जनाए।

सुनीताको पक्षमा न्याय माग्दै शनिबार विहान वीरगन्जमा दबाब र्‍याली निकालिएको छ । शिक्षित परिवारमै दाइजोलाई लिएर यस्तो घटना हुनु दुःखद् भएको सहभागीले बताएका थिए। कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: