Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संखुवासभाको भोटखोला गाउँपालिकामा अज्ञात समूहले आगो लगायो

सङ्खुवासभा, चैत १७ । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् ।

कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ ।

गाउँपालिकामा आगजनी हुनासाथ सदरमुकाम खाँदबारीमा काम विषेशले आएका त्यस गाउँपालिकाका अध्यक्ष पेम्बा भोटे सदरमुकामबाट आगजनीस्थलतर्फ गएका छन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थलमा नेपाल सरकारको सम्बन्धित निकाय हेलिकप्टरमार्फत त्यस स्थानमा जाने प्रयास भइरहेको छ ।

मौसमको खराबीका कारण हालसम्म हेलिकप्टर जान सकेको छैन । हटियामा रहेको गाँउपालिकाको कार्यालय आगजनी भएपछि भोटखोलाबासीमा सन्त्रास छाएको छ । घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको समेत प्रजिअले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: