Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलाई कुनै व्यक्तिगत लाभ र मोह छैन, मेरो चाहना देशको विकास गर्नु होः प्रचण्ड

काठमाडौं, चैत १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले समृद्धि र विकासका लागि आगामी दिनमा थप सहमति, सहकार्य र एकताको खाँचो औँल्याएका छन् । रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘मलाई कुनै व्यक्तिगत लाभ र मोह छैन, अब मेरो चाहना देशको आर्थिक समृद्धि र विकास हो ।’ उनले राष्ट्रिय एकता, स्थायित्व र विकासलाई कमजोर पार्ने र बदनाम गर्नेलाई बालीमा गोडमेल गरेझैँ गोडमेल नगर्न सञ्चार जगतलाई आग्रह गरे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र स्थापना गर्न सञ्चार जगत्ले अहं भूमिका निर्वाह गरेको उल्लेख गरे। नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले आर्थिम समृद्धि भाषणले होइन, लगानीले आउने चर्चा गर्दै शनिवार लगानी सम्मेलनका समापनका अवसरमा हस्ताक्षर गरिएका योजना विगतमै आएको जिकिर गरे । उनले विगतका राजनीतिक अप्ठ्यारो परिस्थितिमा पनि पूर्वाधार विकासका क्षेत्रमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै पूर्वाधार विकासमा पक्ष विपक्षमा बाँडिनु नुहुने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले लोकतान्त्रिक मूल्यमान्यतानुसार प्रेस क्षेत्रलाई निर्बाध चल्न दिनुपर्ने बताए । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वतन्त्र प्रेसले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: