प्रधानमन्त्री भन्छन्, ‘विभिन्न नाममा द्वन्द्व चलाउने र फाटो लगाउन खोज्ने पृथकताका सोचलाई अन्त्य गरेका छौं’

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो । लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न गर्यौं, राष्ट्र एक ठाउँमा रह्यो । सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश दिएका छौं ।’ समृद्ध नेपाल आफैंँ बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिएको प्रधानमन्त्रीले स्पष्ट गरे ।

कर्मचारी समायोजन सहज नभए पनि त्यससम्बन्धी काम सकिएको तथा कानून बनाइएको बताउँदै उनले संविधान कार्यान्वयन गर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आगामी दिनमा संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई तोकेका क्षेत्र र अधिकारका बाँडफाट समन्वयात्मक रुपमा मिलेर अगाडि बढ्ने बताए ।

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गर्दै भने, ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने र अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं ।’

प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको बताउँदै सबैलाई सकारात्मक सोच राख्न आग्रह गरे । उनले भने, “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन । हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।”

कमेन्ट गर्नुहोस्