आगलागीका कारण पसल राखिएको ग्यास सिलिण्डर पड्किँदा ४ घाइते

सर्लाही, चैत १८ । हरिपुर नगरपालिका–९ पिडारी बजारमा सोमबार बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा ४ जना घाइते भएका छन् ।

बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा ३ पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहोर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुन पुगेको थियो ।

फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिण्डर पडकिँएर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिलिण्डर पडकिँदा हरिपुर नगरपालिका–९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका–१ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाँहिने खुट्टा जलेको छ । सिलिण्डरबाट उछिटिएका टुक्रा लगेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँच्चिएको छ । घाईतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

आगलगीमा परी फर्निचर उद्योग, चन्देश्वर र शत्रुधन साहको मासु पसल, रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

त्यसैगरी बजारमै रहेको साना किसान सहकारी संस्थाको घरमा पनि क्षति पुगेको स्थानीय कामेश्वर सिंहले जनाकारी दिए । स्थानीय, बारुणयन्त्र र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: