बारा–पर्साका मृतक परिवारलाई १० लाख दिन नेकपा विद्यार्थीको माग (विज्ञप्तिसहित)

काठमाडौं, चैत १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी, डाक्टर र स्वास्थ्यकर्मीसहित हुरीबतास प्रभावित बारा–पर्सा जिल्लामा परिचालित हुने भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको हो ।

‘यस विस्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं. प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा सम्बद्ध विद्यार्थी तथा युवा संगठनका कतिपय नेता–कार्यकर्ताहरु भने प्रभावित क्षेत्रमा खटिएर उद्धार र राहतको काममा सक्रिय भइसकेका छन् । आँधीमा ज्यान गुमाउनेहरुका परिवारलाई जनही १० लाख राहत तथा परिपुरण रकम उपलब्ध गराउन पनि दुवै संगठनले सरकार समक्ष माग गरेका छन् । साथै घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मागसमेत गरिएको छ ।
प्रदेश २ सरकारले भने मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा अभिभावक गुमाएका र घरवारविहीन भएका बालबालिकाहरुको पठनपाठन प्रभावित हुन नदिन आवश्यक सबै कदम चाल्न पनि माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: