‘स्मार्ट सिटी’ का लागि गुरुयोजना निर्माणमा जुट्यो भरतपुर महानगर

चितवन, चैत १८ । देशको मध्यभागमा रहेको चितवनको भरतपुर महानगरपालिका ‘स्मार्ट सिटी’ का लागि गुरुयोजना निर्माणमा जुटेको छ । स्मार्ट सिटी गुरुयोजना अन्तर्गत विषयगत योजना तर्जुमा गर्नमा व्यस्त महानगरले सोमबार भरतपुरमा ‘पर्यटनका सम्भावना र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पनसमेत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले मेरो वडा होइन, हाम्रो महानगर भनेर अघि बढ्न वडाध्यक्षहरुलाई आग्रह गरिन् । कार्यक्रममा २९ वडाका अध्यक्षमध्ये अधिकांश वडाध्यक्ष अनुपस्थित थिए । निजी सामुदायिक साझेदारी (पीपीपी) अवधारणामा विकासका काम अघि बढाउनु पर्ने उपप्रमुख ठकुरीको भनाई थियो ।

याे पनि पढ्नुस  सडक सरसफाई अभियान चलाउँदै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल

भरतपुर महानगरका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले पर्यटकीय गन्तव्य तय गरेर पर्यटन विकासमा लागेमा नतिजा राम्रो आउने बताए । उनले वन्यजन्तुमात्र नभई चितवनको इतिहास, सँस्कृति र धर्मलाई पनि पर्यटनसँग जोड्न सकिने विचार व्यक्त गर्नुभयो । महानगरका प्रमुख प्रशासकीय नेत्रप्रसाद सुवेदीले गुरुयोजना अन्तर्गत विषयगत योजना तय गरिने जानकारी गराए । ‘योजना आफैंमा काम होइन, काम गर्ने तयारी हो’ उनले भने, ‘सञ्चारलाई प्रभावकारी बनाएर पर्यटनको विकास गर्न सकिन्छ ।’

याे पनि पढ्नुस  भरतपुर महानगरलाई विषादीरहित बनाइने : प्रमुख रेणु दाहाल

कार्यक्रममा सहभागी विभिन्न वडाका अध्यक्षहरुले आआफ्नो वडामा पर्यटन विकासका लागि पूर्वाधार अभाव भएकोले पूर्वाधार निर्माणमा महानगरले सहयोग गर्नु पर्ने बताएका थिए । पर्यटन विकासका लागि पूर्वाधार नहुँदा स्रोत र साधनको उपयोग गर्न नसकिएको उनीहरुको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्