विनाशकारी आँधीबेहरीको त्यो रात

बारा, चैत १८ । साँझको करिब साढे ७ बजेको हुँदो हो, आकाश धुम्म थियो । अनिष्टको संकेत देखिँदै थियो । नभन्दै गाउँ नै विनाश गर्ने गरी हुरी आयो र धेरैलाई लग्यो । फेटा गाउँपालिकाको पुरैनियाका तुफानी आलम घरीघरी आइतबार साँझको घटना सम्झिन्छन् । ‘हावा अर्कै प्रकारले चलेको थियो, हेलिकोप्टर आएजस्तै आवाज आएको थियो । पानी र असिना पनि परेको थियो । बाहिर निस्कन सकिने अवस्था थिएन । तर, असिनासँगै तेज गतिमा हावा चल्यो र बाहिर हेर्दा खरियानमा आगो बलेको जस्तो देखिन्थ्यो,’ आइतबारको कालो रात सम्झँदै उनले भने । तुफानी आलमको पक्की घर छ । पक्की भएकाले नै हावाहुरीले उनको घर हल्लाउन सकेन । तर, छत भने सबै खस्यो । मानवीय क्षति हुन पाएन ।

हावाहुरीले सोही गाउँकी रूपा देवीको ज्यान गयो । आँधीले उनको घरलाई एक डल्लो बनाइदियो । उनले तीन सन्तानलाई खटिया (खाट)मुनि लुकाएर नयाँ जीवन दिइन् । तर, उनलाई आफ्नै घरको दलिनले थिच्यो । एक वर्षीय छोरा सञ्जीत, आठ वर्षीया छोरी ८ निशा देवी र तीन वर्षीया छोरी कुमारी देवीलाई छाडेर उनी परलोक गइन् । रूपा देवीकी हजुरआमालाई पनि आँधीले लग्यो । सोही गाउँको अलि पर एकै परिवारका चारजनालाई आँधीले सँगै लिएर गयो । इजहार मिया अन्सारीकी श्रीमती मीना खातुन, बुहारी सतिमा खातुन र उनका दुई नातिनी सम्चिदा खातुन र रुक्सार खातुन केही मिनेटमै आँधीको तालमा कहिले नउठ्ने गरी सुते ।

संयोगले इजहार बाँचे र अस्पतालमा उपचार गराइरहेका छन् । दुई नातिनी केही दिनअघि मात्रै आएका रहेछन् । उनीहरूलाई आँधीले छाडेन । सोही गाउँकी मतीश्री देवीको लास सोमबार पनि आँगनको डिलमा तन्नाभित्र थियो । उनका श्रीमान् कमाउन गोरखा पुगेका रहेछन् । पुरैनियामा मात्रै आँधीका कारण ११ जनाले ज्यान गुमाए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: