स्याङ्जा सदरमुकामको व्यस्त बजारमा डिजिटल निगरानीमा

स्याङ्जा, चैत १९ । जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको अगुवाईमा जिल्ला सदरमुकामका व्यस्त बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेर सदरमुकामलाई डिजिटल निगरानीमा राखिने भएको छ ।

बजार क्षेत्रमा प्रहरीको गुस्तर नियमित भएपनि सुरक्षा व्यवस्थालाई डिजिटल मैत्री बनाउन संघको अगुवाईमा बजार क्षेत्रलाई डिजिटल निगरानीमा राख्न खोजिएको हो । संघले स्थानीय प्रशासन, उद्योगी व्यवसायी तथा बैंकर्शसँग छलफल गरेर सीसी क्यामेरा जडान गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरू र ठूला घरानाका व्यवसायी आन्तरिकरूपमा सुरक्षित भएपनि बाह्य सुरक्षाको अवस्था विश्वास योग्य नभएको भन्दै सीसी क्यामेरा जडान गर्न लागिएको संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले जानकारी दिए ।

‘जिल्लाभर सुरक्षाको अवस्थामजबुद बनाउनु पर्छ, त्यसमा अझ बजार क्षेत्र धेरै संवेदनशील हुन्छ ।’ जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले भने, ‘संघले सुरक्षा निकायस“ग हातेमालो गरेर डिजिटल सुरक्षित बजार बनाउन खोजेको छ, त्यसमा हाम्रो सकारात्मक सहयोग हुन्छ ।’ अब स्याङ्जा बजार डिजिटल र मानवीय दुवै तहको निगरानीमा हुने लम्सालले बताए ।
करिब ६ वर्षअघि संघकै पहलमा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेर डिजिटल निगरानी सुरु गरिएको थियो । जडित क्यामेरा मर्मत सम्भार कोषको अभावमा बिग्रेर काम नलाग्ने अवस्थामा पुगेको संघले जनाएको छ । संघका अनुसार करिब ७ लाख ५० हजारको खर्चमा दर्जनौं स्थानमा सीसी क्यामेरा जडान गरिएको थियो ।

“पछिल्लो समय कारोबारका हकमा बैंक तथा वित्तीय संस्था सुरक्षाको ठूलो जोखिममा छन् ।” मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख ऋषि ढकालले भने, “त्यो जोखिमलाई डिजिटल निगरानीले न्यूनीकरण गर्ने विश्वास गरेका छौं ।” बजार क्षेत्रमा दैनिक रूपमा एकबाट अर्को वित्तीय संस्थामा नगद कारोबार गर्दा सुरक्षित महसुस गर्न सकिनेमा उनले विश्वास प्रकट गरे ।
विभिन्न समूह र संस्थाकानाममा जबरजस्ती उठाइने चन्दा संकलनलाई डिजिटल निगरानीले निरुत्साहित गर्ने विश्वास लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डिजिटल निगरानीले आपतकालीन उद्धार र सम्भावित दुर्घटनालाई समेत रोक्न सक्छ । बजारको निगरानी गर्न पनि सहज हुने प्रहरीको बुझाइ छ ।

बजार क्षेत्रलाई डिजिटल निगरानीमा राख्न सीसी क्यामेरा जडान गर्नका लागि समितिसमेत गठन गरिएको छ । गठित समितिको संयोजकमा संघका अध्यक्ष, सह–संयोजकमा जिल्ला प्रसाशन कार्यालयका यादवराज शर्मा, सदस्य सचिवमा डिएसपी नविनकृष्ण भडारी र कोषाध्यक्षमा सुनचाँदी व्यवसायी पूर्णबहादुर सुनार, वाणिज्य स्तरका बैंक तर्फबाट नेपाल बैंकका मुकुन्द वाग्ले, एभरेष्ट बैंकका रोजल श्रेष्ठ, सदस्यमा होटल व्यवसायी मोतीकृष्ण उपाध्याय, विकास बैंककातर्फ ऋषि ढकाल, सहकारीबाट केशवराज लम्साल, पत्रकारबाट ओमप्रकाशर्मा र लघुवित्त तर्फबाट धुव्र पौडेल छन् ।

समितिले सीसी क्यामेरा जडान गर्ने स्थानको पहिचान गर्ने र स्रोत व्यवस्थापन गर्ने संघका कार्यालय सचिव रामप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार करिब १० लाखको खर्चमा झन्डै डेढ दर्जन स्थानमा क्यामेरा जडान गरिने छ । कारोबारदैनिकबाट

कमेन्ट गर्नुहोस्