श्रीमतीको हत्याको अभियोगमा श्रीमान सहित ४ पक्राउ

रौतहट, चैत १९ । श्रीमतीको हत्या गर्ने गढीमाई नगरपालिका–१ का ३० वर्षीय सरमोद ठाकुरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरले शनिबार राती श्रीमती सुनीताकुमारी ठाकुरलाई बाँसको चिर्पटले हानेर हत्या गरेका थिए । हत्यापछि गुपचुप रूपमा शव जलाउँदै गर्दा प्रहरीले ठाकुरसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरका काका ६० वर्षीय रामेश्वर ठाकुर, बहिनीहरू १९ वर्षीया निभाकुमारी ठाकुर र १८ वर्षीया सीमाकुमारी ठाकुर छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीका अनुसार सुनीतालाई श्रीमान्, काका ससुरा र नन्दहरू मिलेर घरभित्रै कुटपिट गरेर हत्या गरेका हुन् । सुनीता ठाकुरकी दोस्री श्रीमती हुन् ।

हत्या गरेर गुपचुप शव जलाएको भन्दै माइती पक्षले प्रहरीलाई खबर गरेपछि शनिबार राति नै इलाका प्रहरी कार्यालय गरुडा र चन्द्रनिगाहपुरको टोली घटनास्थलमा पुगेर उनीहरूलाई पक्राउ गरेको हो । सुनीताको हत्या गरेर जलाउँदै गरेको शवबाट केही अवशेष प्रहरीले बरामद गरेको छ ।

तीन वर्षअघि वैदेशिक रोजगारीमा गएका ठाकुर होली मनाउन घर आएका थिए । उनी विदेश बस्दा दुवै श्रीमती माइतमा बसेका स्थानीयले बताएका छन् । घर आएपछि ठाकुरले दुवै श्रीमतीलाई घरमा बोलाएका थिए । घटनाको थप अनुसन्धान भइरहेको इप्रका गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: