बार एसोसिएसन निर्वाचनः लोकतान्त्रिक समूहको थोरै मतको अग्रता

काठमाडौं, चैत १९ । नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज साँझ ६ बजेसम्म प्राप्त मनगणनाको परिणामअनुसार अधिवक्ता सुनील पोखरेलले नेतृत्व गरेको लोकतान्त्रिक समूह (डीएलए) ले थोरै मतले अग्रता लिएको छ।

प्राप्त परिणामअनुसार, अध्यक्षमा पोखरेलले ९८३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेद्वार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले ९२४ मत हासिल गरेका छन्।

त्यसैगरी, महासचिव र कोषाध्यक्षमा लोकतान्त्रिक समूहका लिलामणि पौडेल र तेजबहादुर रावलले क्रमशः ९६४ र ८९० मत पाएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्र थापा र रुद्र पोखरेलले क्रमशः ९०० र ९५६ मत पाएका छन् ।

आज साँझसम्म उपत्यकाबाहिरका पाँच ठाउँबाहेक सबै मत गणना सकिने छ । दाङ देउखुरी, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको मात्र मत गणना बाँकी रहने जनाइएको छ । एसोसिएसनको चैत १६ गते नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: