आइपीएलः चौंथो खेलमा पनि विराटको बैंग्लोर पराजित

काठमाडौं, चैत २० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंग्लोर लगातार चौथो खेलमा पनि पराजित भएको छ । मंगबलार राति राजस्थान रोयल्ससँगको ७ विकेटको हारसँगै बैंग्लोर लगातार चौथो खेलमा पनि पराजित भएको हो । विराटको टिमले दिएको १५९ रनको लक्ष्य घरेलु टोली राजस्थानले १ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर कप्तान अजिंक्या राहणे र जस बटलरले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । २२ रनको ब्यक्तिगत स्कोरमा राहणे आउट भएपछि आएका स्टिभ स्मिथसँग मिलेर बटलरले ४४ रनको साझेदारी गरे ।

बटलर ४३ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५९ रन प्रहार गरेर आउट भए । १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि स्मिथले ३१ बलमा २ चौका र १ छक्काको साथ ३८ रन बनाए । राहुल त्रिपाठीले २३ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन बनाए । त्रिपाठीले नै छक्का प्रहार गरी खेल जिताएका थिए । वेन स्टोक्स १ रनमा अविजित रहे । बैंग्लोरका युजवेन्द्र चहलले २ तथा मोहम्मद सिराजले १ विकेट लिए ।

यसअघि सवाई मानसिंह रंगशाला जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो । उसका लागि पार्थिव पटेलले सर्बाधिक ४१ बलमा ६०, विराट कोहलीले २५ बलमा २३, एवी डी विलियर्सले ९ बलमा १३ रन बनाए । यस्तै, मार्कस स्टोनिसले नट आउट २८ बलमा ३१ र मोइन अलिले ९ बलमा १८ रनको योगदान दिए ।

बलिङमा राजस्थानका श्रेयस गोपाल एक्लैले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए । यस्तै, जोफ्रा आर्चरले ४ ओभरमा ४७ रन दिएर एक विकेट लिए । आईपीएलमा राजस्थानको यो पहिलो जित हो भने बैंगलोर अझै जीतविहीन छ । बैंग्लोरले यसअघि चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्ससँग पराजय ब्यहोरेको थियो । राजस्थान भने यसअघि किंग्स ११ पञ्जाव, हैदराबाद र चेन्नईसँग पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: