महिनावारीको मानसिक पाटो

आयुर्वेदमा महिनावारीको समयमा शारीरिक एवं मानसिक स्वास्थ्य दुवैलाई उत्तिकै महत्व दिइएको पाइन्छ । विशेषगरी शहरी क्षेत्रका युवती तथा महिलाहरूमा महिनावारीको समयमा हुने प्रि–मेन्सुरल अपसेट (महिनावारी हुनुअघिको पीडा) बढ्दो छ ।

समाजमा दुई तहको वर्ग विद्यमान छ । एउटा जो आधारभूत सरसफाइको व्यवस्था गराउनमै अल्झिएको छ, र अर्को जोसँग आधारभूत सफाइको व्यवस्थामा समस्या छैन तर उनीहरू महिनावारीसँग सम्बन्धित मानसिक एवं भावनात्मक पाटोलाई व्यवस्थित गर्न सकिरहेका हुँदैनन् । हुनपनि रजस्वला स्वास्थ्यसँग सम्बद्ध चेतनामूलक कार्यक्रम, पाठ्यक्रम, मिडिया सबैमा शारीरिक सरसफाइका कुरा मात्र देखिन्छ भने त्यसको मानसिक असर र प्रभावको कमै चर्चा गरिन्छ । साँच्चै भन्ने हो भने रजस्वला वा महिनावारीमा मानसिक समस्या सिर्जना हुनसक्छ र ? भन्ने प्रश्न समेत गरिन्छ ।

आयुर्वेद चिकित्सा पद्धतिमा केही यस्ता विशेष कुरा उल्लेख भएको पाइन्छ जसमा रोग नभएका स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षाको कुरा गरिन्छ । जस्तै दिनचर्या, ऋतुचर्या, रजस्वला चर्या (महिनावारी) । रोग लागेपछि त औषधोपचारमा लाग्नैपर्‍यो तर जो स्वस्थ छन् उनीहरूले आफ्नो स्वास्थ्यको प्रवर्द्धन एवं रोग प्रतिरोधक क्षमतालाई क्रियाशील राख्नुपर्छ भन्ने मान्यता आयुर्वेदमा छ । यही सन्दर्भमा रजस्वला चर्चालाई अझ विशेष महत्व दिइएको छ ।

प्रजनन् उमेरका महिलामध्ये ७०–८० प्रतिशत महिलाले आफ्नो महिनावारी आउने अवधिभर धेरै–थोरै, केही न केही मानसिक एवं भावनात्मक संवेग भोगेका हुन्छ । जस्तो कारण नै नभै रिस उठ्ने, काम तथा अध्ययनमा मन नलाग्ने, परिवारका सदस्यहरूसँग चिडचिडाहट हुने, एक्लोपन महसुस हुने, कसैले पनि आफ्नो कुरा नबुझेजस्तो लाग्ने आदि । यी समस्या केही वर्षयता ह्वातै बढेको पाइन्छ । जसको प्रमुख कारण हाम्रो बदलिँदो पारिवारिक वातावरण, सामाजिक परिवेश, अत्याधुनिक जीवनशैली आदि हुन् । शारीरिक कठिनाइ त देखिन्छ नै, तर मानसिक कठिनाइलाई बेलैमा पत्ता लगाएर समाधान गर्न नसके भविष्यमा विकराल अवस्था सिर्जना हुनसक्छ । समयमै त्यसको ख्याल गरे सामान्य परामर्शबाटै पनि सामान्य अवस्थामा रहन सकिन्छ ।

आयुर्वेदमा महिनावारीको समयमा शारीरिक एवं मानसिक स्वास्थ्य दुवैलाई उत्तिकै महत्व दिइएको पाइन्छ । विशेषगरी सहरी क्षेत्रका युवती तथा महिलाहरूमा महिनावारीको समयमा हुने प्रि–मेन्सुरल अपसेट (महिनावारी हुनुअघिको पीडा) बढ्दो छ । महिनावारीको समयमा अत्यधिक पीडा हुने, महिना खुलेर नआउने, लामो समयसम्म रक्तस्राव भैरहने आदि समस्या बढ्दो अवस्थामा छ भने पोलिस्टिक ओभरी सिन्ड्रोमको समस्यासमेत उकालो लागिरहेको पाइन्छ ।

आधुनिक खानपान एवं जीवनशैलीले यी समस्यालाई बढावा दिइरहेका छन् । हिजोआजका धेरैजसो युवतीमा स्कुल, कलेज तथा कार्यालयमा मैदाजन्य खाजा खाने, सक्रिय व्यायाम, योग, प्राणायाम आदिबाट कोसौं टाढा रहने बानी छ । यस्तो अल्छीपनले महिना आउनुभन्दा पहिले चिडचिडाहट उत्पन्न हुने, रिसाउने, झन्कने जस्ता समस्या सिर्जना हुन्छन् । मानसिक भावका यी समस्या आहार–विहारको सामान्य हेरफेरबाट पनि समाधान गर्न सकिन्छ । दैनिक योग, प्राणायाम एवं ओम उच्चारणबाट पनि डि–स्ट्रेस हुन सकिन्छ ।

स्वस्थ महिनावारीका लागि

० सामान्यतः तीन दिनसम्म जौ, गहुँ, पोलिस नगरेको चामलको दलिया, रोटी वा भातको प्रयोग दूधसँग गर्ने ।

० नुन प्रयोग गर्नुपरे सिधे नुन प्रयोगमा ल्याउने ।

० हरियो साग तथा तरकारी प्रयोग गर्ने, मौसमअनुसारका फल खाने ।

० बढी तेज काम जस्तैः उफ्रने, दौडिने, लामो दूरीको यात्रा आदि नगर्ने ।

० चर्को ध्वनिबाट जोगिने, चर्को नबोल्ने ।

० विवाहित महिलाले सहवास नगर्ने ।

० सात्विक, सादा जीवनमा रमाउने । विशेष गरी महिनावारीका बेला आभूषण तथा श्रृंगार प्रयोगमा नल्याउने ।

० मुनक्का (दाख), सिद्धा वा चामलको पुवा आदि खाने ।

० अमिलो, पिरो तथा चर्को खानपान परहेज गर्ने ।

० हल्का आराम गरे पनि लगातार नसुत्ने ।

० आयुर्वेदमा वर्णित कुनै पनि उपक्रम (अभ्यङ्ग, स्वेदन प्रक्षालन, नस्य वमन) आदि नगर्ने ।

० बढी चिडचिडाहट उत्पन्न भए मधुर संगीत सुन्ने, अनुलोम–विलोम, प्राणायाम, ध्यान आदि गर्ने ।

० यी सामान्य नियम पालना गर्दा पनि महिनावारी भएका महिलालाई धेरै फाइदा मिल्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: