साझाले २० थप नयाँ शहरी बस ल्याउँदै

काठमाण्डौं, चैत २१ । साझा यातायातले काठमाण्डौ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम भारतबाट ती बस मगाइएको हो ।

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद भएकोे हो । उनले भने अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाण्डौ आइपुग्नेछ ।

बस काठमाण्डौ आइपुगेपछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाण्डौ महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ शेयर खरिद गरेका छन् ।
२०१९ सालमा बस सेवा सुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो ।

विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । २०७० वैशाखदेखि साझाले नयाँ बस खरिद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाण्डौ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरिद गरेर सेवा फैलाइरहेको जनाएको छ ।

साझा यातायातले गएको वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा छ । साझाले काठमाण्डौदेखि बागलुङ र काठमाण्डौदेखि कुश्मासम्मको लामो दूरीका दुई-दुई बस समेत सञ्चालन गरिरहेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: