नेपालको भूमिमा भारतले राखेको ‘माइल स्तम्भ’ हटाइयो

काठमाडौं, चैत २१ । पूर्वी नाका काँकडभिट्टामा नेपाल–भारत जोड्ने निर्माणाधीन नयाँ मेची पुलको छेउमै भारतीय ठेकेदारले एउटा ‘माइल स्तम्भ’ ठड्याएका छन् । स्तम्भमा लेखिएको ‘एनएच ३२७ बी सिलिगुढी ३२ र बागडुग्रा १९ किलोमिटर’ लेखिएको छ ।

नेपाली भूभागमा भारतीय पक्षले यसरी स्तम्भ ठड्याएपछि स्थानीयले तत्काल प्रशासनमा खबर गरे । स्थानीयको खबर पाएपछि स्थलगत निरीक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्काल स्तम्भ भत्काउन निर्देशन दिए । प्रजिअको निर्देशनपछि बिहीबार शसस्त्र प्रहरी र स्थानीयले स्तम्भ भत्काएका छन् ।

२० मिटर पर त्यही व्यहोरा लेखिएको स्तम्भ हुँदाहुँदै भारतीय ठेकेदारले नेपाली भूमिमा समेत स्तम्भ बनाएका थिए । प्रजिअ दाहालले भारतले नियमविपरित स्तम्भ बनाएका कारण भत्काउन लगाइएको बताए ।

नेपाल–भारत सीमा सम्झौताअनुसार दुई देशको दशगजा क्षेत्रमा कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख छ । मेची पुलमा दिनरात सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहन्छन् । नेपालका प्रहरी ड्युटीमा बस्ने स्थानदेखि ५० मिटरभित्रै पिलर राखिएको थियो ।

नेपाल–भारतको सीमा सम्झौताअनुसार दशगजा क्षेत्रभित्रै यस प्रकारका पिलर राख्न नपाइने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । काँकडभिट्टामा पिलर राख्ने अधिकार भारतलाई नभएको सडक डिभिजन कार्यालयका प्रमुख श्याम यादवले बताए । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

कमेन्ट गर्नुहोस्