शुक्लाफाँटा पर्यटन महोत्सव समापन झण्डै दुई हजारले गरे निकुञ्ज अवलोकन

महेन्द्रनगर, चैत २१ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सव बिहीबार समापन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा कार्यक्रम गरी महोत्सव समापन गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि भीमदत्त नगरपालिकाको संयोजनमा चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको हो । सात दिनसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न क्षेत्रका १ हजार ८ सय ५० जनाले निकुञ्ज अवलोकन गरेका छन् ।

महोत्सवको अन्तिम दिन ४ सय ९३ जनाल निकुञ्ज अवलोकन गरेका छन् । यसै गरी चैत २० गते ४ सय १९, १९ गते २ सय ५१, १८ गते १ सय ६६, १७ गते ७३, १७ गते २ सय ९० र १५ गते १ सय ५९ जनाले अवलोकन गरे ।

महोत्सवको समापन गर्दै महोत्सव मूल समितिका संयोजक भीनपाका नगर प्रमुख विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको बताए । ‘शुक्लाफाँटामा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो, छोटो समयको तयारीमामा पनि आन्तरिक र बाह्य पर्यटकको राम्रो उपस्थिति देखिएको छ’ उनले भने,‘यस पटक सिकाई भएको छ, आगामी दिन यसलाई निरन्तरता दिने गरी अघि बढ्छौ ।

समृद्धिका लागि पर्यटन र पर्यटनका लागि सहकार्य भन्ने नारा सहित गरिएको महोत्सवबाट शुक्लाफाँटाको प्रचारप्रसार भएर आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुगेको नगर प्रमुख विष्टले बताए । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई प्रचार तथा पूर्वाधार वर्ष घोषणा गरेको छ । यसैगरी शुक्लाफाँटा निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि झोलुङ्ग पुल हुँदै बागफाँटासम्म निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण अघि बढाएको छ भने झोलुङ्गे पुल नजिक उद्यान र पिकनिक स्पट बनाउन सुरु गरिएको छ । नगरपालिकाले राना थारु होमस्टेलाई लक्षित गरी कार्यक्रम अघि बढाएको छ ।

समापन कार्यक्रममा महोत्सव स्रोत व्यवस्थापन समितिका संयोजक कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले आर्थिक र प्रचार प्रसार समितिका संयोजक लक्षण तिवारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरी, कञ्चनपुर होटेल व्यवसायी संघका अध्यक्ष प्रमानन्द भण्डारी, पत्रकार राम सिह ठगुन्ना लगायतले महोत्सवलाई आगामी दिनमा निरन्तरता दिएर जानु पर्नेमा जोड दिए ।

महोत्सव उद्घाटन कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको फागुन ९ गतेका दिन महोत्सव आयोजना गर्ने अनौपचारिक घोषणा गरिएको थियो । कार्यक्रमका अध्यक्ष मूल समितिका संयोजक विष्टले निकुञ्ज घोषणा गरिएका दिन महोत्सव आयोजना गरिने कुरा उद्घाटनमा आएको त्यसलाई व्यवस्थित गर्न सरोकारवालासित छलफल गरिने बताए ।

भीमदत्त नगरपालिकाको संयोजनमा गरिएको महोत्सवमा कञ्चनपुर सबै स्थानीय तह सहित नाटा, कञ्चनपुर उद्योग बाणिज्य संघ, कञ्चनपुर होटल व्यवसायी संघ लगायतका आयोजक छन् । महोत्सवमा बुधबारसम्म सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारी, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु लिलाधर भट्ट, पूर्णा जोशी, मान बहादुर सुनार, लाल बहादुर खड्का, महेशदत्त जोशी लगायतले निकुञ्ज भ्रमण गरेका छन् ।

यसैगरी अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा र परशुराम नगरपालिकाका नगर भीम बहादुर साउँदले पनि महोत्सवको अवसर पारी निकुञ्ज भ्रमण गरेका छन् । यसैगरी भारतीय पत्रकारको टीम सहित कुमाउका उद्यमी व्यवसायीले पनि निकुञ्ज अवलोकन गरेका छन् । प्रदेश नं। १, ३ र ५ नम्बरको पर्यटकले महोत्सव अवधिमा निकुञ्ज अवलोकन गरेका छन् ।

महोत्सव अवधिमा एक सय ४५ सवारी साधन निकुञ्ज प्रवेश गरेका छन् । दैनिक तीन सय जनालाई निकुञ्ज घुमाउने लक्ष्य राखेर महोत्सव आयोजना गरिएको हो । नाटाका सुदूरपश्चिम प्रदेश महासचिव पदम बिक्रम सिहले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन उत्तम विष्टले गरेका थिए । कार्यक्रममा शुक्लाफाँटा निकुञ्जलाई सेल्फी पोइन्ट हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा भीनपा १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेय, १७ का अध्यक्ष हिमाल चन्द, १५ का अध्यक्ष भीम बहादुर शाहु, १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, ११ का अध्यक्ष प्रेम प्रकाश जैसी, ५ का अध्यक्ष मदन बहादुर चन्द, कार्यपालिका सदस्य मदन सिह सेराला, नागरिक समाजका भवराज रेग्मी, गैर सरकारी संस्था महासंघका अध्यक्ष नरेश सिलाल, बेदकोट उद्योग बाणिज्य संघका महासचिव रामचन्द्र रेग्मी, लगायतका सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: