शुक्रबारदेखि १०१ हलमा ‘लभ स्टेशन’ प्रदर्शनमा, क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं, चैत २२ । आगामी नयाँवर्षको अवसर पारेर शुक्रबारदेखि चलचित्र ‘लभ स्टेशन’ मुलुकका १०१ ओटा सिनेमा हलमा प्रदर्शनमा आएको छ ।

नेपाली चलचित्र प्रदर्शनको पूर्व सन्ध्यामा ‘लभ स्टेशन’ निर्माण टिमका तर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स–सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगको छलफलपछि ‘लभ स्टेशन’को नेपालभर प्रदर्शन भएको मुनाफाको ५ प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहीबार काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले गरेको छ ।

यसबारे यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले भने, ‘हाम्रो चलचित्रका तर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अहिले ५० हजार रुपैयाँ सहित फिल्म प्रदर्शन भएपछि नेपालबाट उठेको मुनाफाको ५ प्रतिसत रकम दिने भएका छौं ।

साथै चलचित्र पत्रकार संघका तर्फबाट ७ जेठमा प्रदान गरिने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार बिजेतालाई अभिनेता प्रदीप खड्का र मेरो तर्फबाट एउटा ल्यापटप प्रदान गरिने घोषणा गर्दछौं ।’ गतसाता अभिनेता प्रदीप खड्काले काठमाडौंको गोकर्णस्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई भर्नासहित ३ महिनाको विद्यालय शुल्क, बारा जिल्लाका हुरीबतास पीडितलाई सोमबार ५० हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।

दुवै हात गुमाएकी मेघा घिमिरेलाई प्रदीप खड्का र लभ स्टेशनका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकेको यो टिमले क्रिकेट मैदान निर्माणका लागि यो सहयोग प्रदानसँगै थप सहयोगको घोषणा बिहीबार गरेका हुन् ।

अभिनेता प्रदीप खड्काले आफुसँग प्रशस्त पैसा नभएपनि कलाकारको पनि सामाजिक उत्तरदायित्व हुन्छ भन्दै यो सहयोग प्रदान गरिएको बताएका छन्, ‘नेपाली चलचित्र नचलेको र चल्ने वातावरण विभिन्न पक्षबाट बिगार्ने काम भइरहेको बेला चलचित्र क्षेत्रको समाजप्रतिको दायित्व निर्वाह गर्ने हामीले यस्तो सहयोग गर्र्दै आएका हौं ,’ अभिनेता खड्काले बताए ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशन साँगीतिक प्रेम कथामा आधारित सामाजिक कथाबस्तु युक्त चलचित्र रहेको निर्देशक घिमिरेले बताएका छन् । लिलीबिलीबाट चर्चा बटुलेका जोडी प्रदीप खड्का र जसिता गुरुङसँगै चलचित्र लभ स्टेशनमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: