‘शैक्षिक असमानता हटाउने अभियानमा जुट्ने युवालाई शुभकामना’ : शिक्षामन्त्री गिरिराजमणि पोखरेल

काठमाडौं, चैत २२ । शैक्षिक समानताका लागि अभियान अघि बढाइरहेको संस्था टिच फर नेपालले बिहीबार आफ्नो छैठौं वार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा टिच फर नेपाल अन्तर्गत २ वर्षको फेलोसिप सम्पन्न गरेकालाई विदाई तथा नयाँ प्रज्ञार्थीलाई शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफू टिच फर नेपाल र टिच फर नेपालको कामलाई नजिकबाट नियालिरहेको बताए । ‘टिच फर नेपालले नेपालको शिक्षा सुधारमामा ठुलो भूमिका खेलिरहेको छ र यो प्रक्रिया निरन्तर चलिरहे साक्षर नेपाल बनाउन धेरै समय लाग्ने छैन’ मन्त्री गिरिराजमणि पोखरेलले बताए । उनले २ वर्ष सकेका प्रज्ञार्थीहरूको उर्जा बुझेको र आगामी दिन मन्त्रालयको सहकार्यमा अघि बढ्न पहल समेत गरे । उनले नेपालको शिक्षा प्रणालीमा विद्यमान कुरीतिले आफुलाई चिन्तित भएको बताए ।

२०१६को प्रज्ञार्थीका रुपमा नेपालका ६ जिल्लाको ५१ सार्वजनिक विद्यालयमा ४० प्रज्ञार्थीले २ वर्ष अध्यापन गराएका थिए । ‘वर्षेनी धेरै जिल्लाबाट प्रज्ञार्थीको माग बढिरहेको र आफुहरू माग पूर्ति गर्न उत्साहित तथा चिन्तित रहेका छौं’ प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले बताए ।

कार्यक्रममा टिच फर नेपालले अध्यापन गराईरहेका विभिन्न विद्यालयका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियर, गणितसँग सम्बन्धित प्रविधिहरुको पनि प्रदर्शनी गरेको थियो ।

टिच फर नेपालबारे

टिच फर नेपाल सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न कृयाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा, २०७५ देखि दाङ, लम्जुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा र २०७६ बाट तनहुँमा सञ्चालन हुने छ ।

यस अभियानको लागि यस संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ, पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ । जसमा १३८ जना प्रज्ञार्थी शिक्षकहरू कार्यरत रहेका छन् । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: